close

जुम्लामा बजार अनुगमन

जुम्लामा बजार अनुगमन

Trulli
ADVERTISEMENT

जुम्ला - नेपालीहरूको महान चाडपर्व दशैँ-तिहार नजिकिएसँगै जुम्लाको प्रमुख व्यापारिक केन्द्र सदरमुकाम खलङ्गामा बजार अनुगमन तीब्र पारिएको छ ।

 

सरसामान किनमेलमा स्थानीयवासीको चहलपहल बढ्न थालेसँगै यहाँका प्रमुख व्यापारिक केन्द्रमा जिल्ला प्रशासन कार्यालय, चन्दननाथ नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको संयुक्त टोलीले अनुगमन गरेको हो ।

 

कोरोनाका कारण पटकपटक बन्द रहेका यहाँका बजार, उद्योग तथा होटल अहिले पूर्ण रूपमा संचालनमा आएका छन् । यसै शिलशिलामा दशैँ तिहारका लागि बजारमा स्थानीयवासीको सरसामान किन्नेको भीड लाग्न थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाको नेतृत्वमा बजार अनुगमन गरिएको हो । 

 

खलङ्गाको मुख्य बजार, विजयनगर, भारतीबाडा, कार्कीबाडा कालेखोलीलगायतका बजार क्षेत्रका खाद्य तथा खुद्रा, फेन्सी, होटल, कपडा पसल गरी १५ वटा व्यवसायको छड्क अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका निमित्त प्रमुख पदम न्यौपानेले बताए । 

 

अनुगमनका क्रममा उद्देश्यविना व्यवसायी संचालन गरिएको, व्यापारीले पुँजीभन्दा लाखौँ मूल्य बढीका सामान राखेर बिक्री वितरण गर्ने गरी कर छली गरेको भेटिएको छ । उनले भने, ‘यस विषयमा सात दिनभित्र व्यापारीलाई मूल्य सूची टाँस गर्न, उद्देश्य थप्नुपर्ने र लगानी पुँजी थपेर व्यवसाय गर्न घटना स्थलमै पत्र दिइएको छ । सात दिनभित्र सुझाएको कुरामा सुधार नआए कानुनी कारबाही पनि गर्ने चेतावनी दिइएको छ ।’ 

 

जुम्ला बजारका ठूला व्यापारीले पनि अनुगमनको जानकारी पाएपछि पसल बन्द गरेर आफ्नो कमजोरी लुकाउने गरेको पाइएको छ ।     

 

जिल्लाका प्रमुख बजारमा प्रायः चाडबाडको समयमा अखाद्य वस्तु बिक्री वितरण हुने गरेको पटकपटक पाइएकाले सम्बन्धित निकायले नियमित अनुगमन गर्न आवश्यक रहेको पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले बताए । पटकपटक अनुगमन गरी अखाद्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई ल्याउन उनले सुझाए ।

 

उद्योग बाणिज्य संघ जुम्लाका उपाध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार चाडपर्वको समयमा देशव्यापी रूपमा अनुगमन गर्ने गरिन्छ । ‘यो सकारात्मक पक्ष हो’, उनले भने, ‘चाडपर्वको समयमा उपभोक्ताहरू नठगिऊन् भनेर तथा अखाद्य वस्तु बिक्री वितरणमा व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको हो ।’