close

आज हरितालिका तीज मनाइँदै 

आज हरितालिका तीज मनाइँदै 

Trulli
ADVERTISEMENT

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।

 

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

 

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

 

‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उनले भने ।

 

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले बताए । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराईले बताए ।

 

दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।


 
यस वर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले तीज व्रतको भोलिपल्ट भदौ २५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।

 

पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन आउन पाउने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । पशुपति क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न भने कोषले आह्वान गरेको छ । पशुपतिनाथबाहेकका अन्य धेरै मन्दिर खुलेकाले भक्तजनलाई सजिलो भएको छ ।