close

बटौली सहर हेर्दा चिटिक्क, फोहोरदेखि ट्राफिक व्यवस्थापन भद्रगोल

बटौली सहर हेर्दा चिटिक्क, फोहोरदेखि ट्राफिक व्यवस्थापन भद्रगोल

Trulli
ADVERTISEMENT

विवश विष्ट


रूपन्देही/बुटवल– रूपन्देहीको बुटवल उपमहानगरभित्रको सहर झट्ट हेर्दा सुन्दर देखिन्छ । तर, सहरभित्रको सहरलाई हेर्दा भने अवस्था नाजुक छ । सडक मात्र नभई अन्य कारणले पनि बटौलीलाई अव्यवस्थित बनाइरहेको छ । सडक मर्मत होस् वा अन्य विकास निर्माण । दिनानुदिन मार गाडी चालक र यात्रुलाई नै भोग्दै आएका छन् ।

 

सिद्धार्थ राजमार्गको चौराहा–गोलपार्क सडक खण्ड होस् वा महेन्द्र राजमार्गको चौराहा–पुष्पलाल पार्क–तिनाउ पुल होस् । यी सडक खण्ड दीर्घकालीन मर्मतसम्भार नगरिँदा चालक र यात्रु सधैँ जोखिममा छन् । 

 

‘घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे’ बुटवलको मुख्य सडकको नाराजस्तै बनेको छ । खाल्डाखुल्डी, छाडा चौपायालगायत सडक व्यवस्थापन हुन नसक्दा दिनानुदिन दुर्घटनाको जोखिम बढिरहेको छ । 

 

बढ्दो गर्मी, त्यसमाथि सडकको धुलो र धुवाँले सडकमा हिँड्ने पैदल यात्रुलाई पनि सास्ती छ । सडकको बीच भागका ठूल्ठूला खाल्डामा जम्मा भएको पानी, हुइँकिँदै आएका गाडी नियन्त्रण गर्न नसक्दा सडक दुर्घटना पनि बढिरहेको छ । सकडमै जम्मा भएको पानीले पैदल यात्रीलाई छ्याप्ने समस्या कति हो कति ! 

 

सडकमा भएका खाल्डाखुल्डी मर्मतसम्भार दीर्घकालिन रूपमा गर्न नसक्दा जोखिम मोलेरै भए पनि मोटरसाइकल, अटोरिक्सालगायत अन्य गाडी गुडाउनुपरेको गाडी चालक बताउँछन् । खाल्डाखुल्डी मात्र नभई सडकमा भएका छाडा चौपायाले पनि दुर्घटना निम्तिने त्रास हुने गरेको उनीहरूको अनुभव छ । 


बुटवलका सडकमा देखिएका समस्या सल्टाउन सम्बन्धित निकायको ठोस पहल नभएको स्थानीय बताउँछन् । दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन रूपमा सडक मर्मतसम्भार गर्न विभिन्न संघ–संस्थाले सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउँदै आए पनि अहिलेसम्म प्रतिबद्धताबाहेक ठोस हुन नसकेको नागरिकको गुनासो छ ।

 

सडक जामको नमुना

पछिल्लो समय बुटवलका मुख्य सडकमा जाम बढिरहेको छ । यातायात साधनको संख्या वृद्धि तथा ट्राफिक व्यवस्थापन फितलोका कारण यस्तो अवस्था दिनानुदिन बढ्दै गएको हो ।


यसले ट्राफिक प्रहरीलाई समेत सास्ती भइरहेको छ । बजारका मुख्य सडकमा ट्राफिक नियम पालना गर्ने पनि भेटिन छाडेका छन् । तर, सम्बन्धित निकायले पहल नलिँदा ट्राफिक व्यवस्थापन भद्रगोल भइरहेको ट्राफिक प्रहरी नै बताउँछन् ।

 

छाडा चौपायाको रजगज

 

बुटवलका मुख्य सडकमा मात्र नभई भित्री गल्ली–गल्लीमा छाडा चौपायाले रजाइँ गरिरहेका छन् । बुटवल उपमहानगरपालिका तथा अन्य सम्बन्धित निकायले यसतर्फ ध्यान दिइरहेका छैनन् ।


मुख्य सडकमा हिँडडुल गर्ने छाडा गाईवस्तुका कारण सडक दुर्घटना बढिरहेको छ । छाडा चौपाया नियन्त्रणका लागि ठोस निर्णय भएको देखिन्न ।

 

चोकचोकमा फोहोरको डंगुर


बुटवलको पुष्पलाल पार्क, मिलनचोक, होराइजन चोक, बसपार्कलगायत मुुख्य चोकमा २ सातादेखि फोहोरको डंगुर थुप्रिएको छ । बुटवल उपमहानगरले उठाउन नसक्दा फोहोरकै कारण सहर दुर्गन्धित भइरहेको छ ।

 

फोहोर फाल्ने डम्पिङ साइट भरिएकाले उठाउन नसकिएको उपमहानगरको वातावरण महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए । अर्को डम्पिङ साइट व्यवस्था गरेर फोहोर उठाइने उनको भनाइ छ ।


चोकचोकमा फोहोर थुप्रिन थालेपछि पैदल यात्रुलाई सास्ती भएको छ । हिँडडुल गर्दा पनि सकस परिरहेको तिनको गुनासो छ । 

 

चुरे पहाडको लेदो अस्पताल लाइनसम्म

१३ र १४ भदौमा गएको बुटवलमाथिको अग्लो चुरे पहाडको पहिरोमा पानी परेपछि अहिले पनि अस्पताललाइनसम्म बगिरहेको छ । व्यवस्थित ढल निकास नहुँदा बुटवल ज्योतिनगर हुँदै आएको चुरे पहाडको हिलो गोलपार्क, ट्राफिक चोक हुँदै अस्पताललाइनसम्म आइपुग्दा पैदल यात्रीलाई हिँडडुल गर्न सास्ती भएको हो । पैदल यात्री मात्र नभई गाडी चालक तथा मोटरसाइकल चालकसमेत सास्ती भोगिरहेका छन् ।

 

‘हाम्रो बुटवल सुन्दर बुटवल’ को नारासहित जनप्रतिनिधिले चुनाव जिते पनि कार्यान्वयन नगर्दा बुटवल सहर अव्यस्थित भएको हो ।