close

कोरोनाले बिथोलिएको शिक्षा : नेपालमा ८८ प्रतिशत बालबालिका सिकाइमा पछाडि परेको युनिसेफको तथ्यांक 

कोरोनाले बिथोलिएको शिक्षा : नेपालमा ८८ प्रतिशत बालबालिका सिकाइमा पछाडि परेको युनिसेफको तथ्यांक 

Trulli
ADVERTISEMENT

काठमाडौं– कोभिड महामारीका कारण विद्यालय बन्द हुँदा दक्षिण एसियाका विद्यार्थीको सिकाइ क्षमतामा कमी आएको युनिसेफको अध्ययनले देखाएको छ ।

भर्चुअल कक्षाका लागि उपकरणमा पहुँच नहुनु, गुणस्तरीय इन्टरनेटको अभाव तथा शिक्षकसित सम्पर्क नभएका कारण सिकाइमा बाधा पुगेको अध्ययनको निष्कर्ष छ । 

 

सरकारले दूरशिक्षा विस्तारका लागि प्रयास गरे पनि नेपाल, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका बालबालिकाको सिकाइमा अधिक असमानता बढेको युनिसेफले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । 

 

कोरोना महामारीका कारण यस क्षेत्रका विद्यालय बन्द हुँदा ४३ दशमलव ४ करोड बालबालिकाको सिकाइमा बाधा पुगेको छ । युनिसेफको अध्ययनअनुसार महामारीपूर्वको तुलनामा अहिले धेरै कम सिकेको विद्यार्थी र अभिभावकले बताएका छन् ।

 

भारतमा १४–१८ वर्ष उमेर समूहका ८० प्रतिशत बालबालिकाले विद्यालयमा भौतिक रूपमा उपस्थित भएर सिकेभन्दा धेरै कम सिकेको बताएका थिए । यसैगरी श्रीलंकामा प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका ६९ प्रतिशत अभिभावकका अनुसार तिनका बालबालिकाले ‘कम’ वा ‘धेरै कम’ सिकिरहेको बताएका थिए । 

 

नेपालमा गरिएको अनुसन्धानमा ८८ प्रतिशत अभिभावकले बालबालिका सिकाइमा पछाडि पर्न थालेको वा सिकेका कुरा बिर्सन थालेको बताएका छन् ।दूरशिक्षाका कारण किशोरी, सबैभन्दा पिछडिएका घरधुरी तथा अपांगता भएका बालबालिकाले सबैभन्दा ठूलो चुनौती सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ  । 

 

भारतमा ६–१३ वर्ष उमेर समूहका ४२ प्रतिशत बालबालिकाले विद्यालय बन्द हुँदा कुनै पनि प्रकारको दूरशिक्षा प्रयोग नगरेको पाइएको छ । 

 

पाकिस्तानमा २३ प्रतिशत बालबालिकासँग दूरशिक्षामा सहयोग पुग्ने कुनै पनि उपकरणमा पहुँच थिएन । नेपालको हकमा ६३ प्रतिशत बालबालिकाले पाठ्यपुस्तकबाट स्व–अध्ययनमा निर्भर हुने र थोरै बालबालिकाको मात्रै वैकल्पिक शिक्षाका विधिमा पहुँच भएको पाइएको छ । 

 

यसमध्ये अनलाइन कक्षा प्रयोग गर्ने घरधुरी जम्मा २७.५ प्रतिशत रहेको छ । परिवारले एउटा मात्र उपकरण किन्न पनि संघर्ष गरिरहेका गरिब र पिछडिएका घरधुरी सबैभन्दा बढी प्रभावित भएको प्रतिवेदनमा औँल्याइएको छ ।

 

उपकरण उपलब्ध हुँदा पनि तिनको प्रायः कम उपयोग भएको र ती उपकरणमा बालबालिकाको पहुँच सीमित रहेको युनिसेफको अनुसन्धानले देखाएको छ ।

 

पाकिस्तानमा उपकरणमा पहुँच भएका बालबालिकामध्ये लगभग २४ प्रतिशत बालबालिकाले मात्र तिनले चाहेको समयमा उपयोग गर्न सकेको प्रतिवेदनमा उल्लेख छ ।

 


अनुसन्धानका क्रममा श्रीलंकाको निजी प्राथमिक विद्यालयमा ५२ प्रतिशत शिक्षकले आफ्ना विद्यार्थीलाई साताको पाँच दिन सम्पर्क गर्ने गरेको पाइएको थियो ।सार्वजनिक प्राथमिक विद्यालयमा आफ्ना विद्यार्थीलाई सम्पर्क गर्ने शिक्षकको संख्या ८ प्रतिशत मात्रै छ ।

 

नेपालमा विद्यालय बन्द रहेको अवधिमा निजी विद्यालयका ३६ प्रतिशत र सामुदायिक विद्यालयका ५९ प्रतिशत शिक्षक बालबालिकासँग सम्पर्कमा नरहेको अध्ययनले देखाएको छ ।

 


बालबालिकाको सिकाइलाई निरन्तरता दिन यस्ता छन् युनिसेफका सुझाव 

 

सरकारले सबै विद्यालयलाई सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने विषयलाई प्राथमिकता दिनुका साथै आवश्यक परे दूरशिक्षाबाट बालबालिकाले गुणस्तरीय सिकाइ हासिल गर्न सक्षम भएको कुराको सुनिश्चित गर्ने ।

 


‘सिकाइ परिपूर्ति’ अवधिको माध्यमबाट शिक्षकले बालबालिकाको सिकाइ स्तरको आकलन गर्नुका साथै उनीहरूले छुटेका सिकाइलाई पछ्याउन सक्षम छन् भन्ने कुरा सुनिश्चित गर्ने ।

 

सुरक्षित तवरले विद्यालय पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्ने गरी सबै शिक्षकलाई खोप उपलब्ध गराउने कुरालाई प्राथमिकता दिने ।

 

सरकारहरूले शिक्षकलाई तालिम दिएर मोबाइल उपकरण, टिभी, रेडियो र प्रिन्ट सामग्रीसहितका विभिन्न संयोजनको माध्यमद्वारा प्रविधिबाट वञ्चित वा सीमित पहुँच भएका बालबालिका र किशोर–किशोरीसम्म पुग्न समर्थ र योग्य बनाउने ।

 

सरकारहरू र दाताद्वारा शिक्षाको जग अर्थात् पूर्वप्राथमिक शिक्षा र आधारभूत साक्षरता तथा गणितलाई विशेष प्राथमिकतामा राखी शिक्षामा गरिने लगानीको संरक्षण र विस्तार गर्ने ।

 

निजी क्षेत्र र नागरिक समाज, संगठनले सरकारहरूसँग मिलेर गुणस्तरीय इन्टरनेट सुविधामा सुधार ल्याउनुका साथै विद्यार्थीको आवश्यकताअनुरूप उच्च गुणस्तरीय, बहुभाषी दूरशिक्षण सामग्री बनाउने ।

 

शिक्षकलाई विद्यार्थीसँग जोडिन र विभिन्न प्रकारका शिक्षा प्रविधिको उपयोग गर्न विद्यालयका प्रशासक र शिक्षा अधिकारीहरूले मार्गदर्शन प्रदान गर्ने ।

घरमा आधारित सिकाइ जारी राख्न आमाबाबु र हेरचाहकर्तालाई पर्याप्त सहयोग र मार्गदर्शन प्रदान गर्ने ।