close

प्रतिघन्टा  १३ हजार रुपैयाँ तिरेर सडक मर्मत गर्दै सिमकोट 

प्रतिघन्टा  १३ हजार रुपैयाँ तिरेर सडक मर्मत गर्दै सिमकोट 

Trulli
ADVERTISEMENT

सिमकोट– सिमकोट गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रयास जारी राखेको छ । यसका लागि गाउँपालिकाले निजी एक्साभेटरलाई  प्रतिघन्टा   १३ हजार रुपैयाँ खर्च गरिरहेको छ ।

 

गाउँपालिकाका वडा नं १ दोजाम, २ ठेहे र ३ बरगाउँको बाटो भत्केको आठ महिना बितिसकेको छ ।  समयमा मरमत नगरिँदा सडक अवरुद्ध बनेको हो । अहिले स्थानीयवासीलगायत आवतजावतमा निकै समस्या भएको छ ।

 

भत्किएको सडक गाउँपालिका आफैँले मर्मत गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । यतिखेर सिमकोट वडा ४ बुराउँसेबाट वडा नं ३ लाङदु बरगाउँ हुँदै वडा नं २ ठेहेसम्मको सडक मर्मत गाउँपालिकाले गरिरहेको वडा नं ३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामाले बताए । आन्तरिक  पर्यटकका लागि रलिङ गुम्बा अति उत्तम स्थान मानिन्छ ।  

 

सो स्थानमा जाने मुख्य बाटो भत्कँदा पर्यटकलाई आवतजावतमा निकै सास्ती भएको छ । सिमकोट –१ दोजामसम्म सडक निर्माण गरिसकेपछि मात्र एक्साभेटर फिर्ता भएर पर्यटकीय मार्ग रलिङ गुम्बा जाने सडक निमार्ण गरिने जनाइएको छ । 

 

सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध

 

कर्णाली करिडोरको सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षा भइरहँदा एक हप्तादेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ । वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सिधै कच्ची सडकमा पस्नुका साथै खोलामा रहेको सडक बाढीले अवरुद्ध बनाएको स्याम्नेगाउँका दख्खल महतले बताए ।

 

खोला सडक भएर बगेको छ । सडकका धेरै ठाउँमा चिरा परेको छ । खोलाको पानीले करिब ३०० मिटर सडक बगाएको उनले जानकारी दिए । बाढीले सडक अवरुद्ध बनाउँदा यस क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई थप समस्या बनाएको छ । चिरा परेका सडकमा यातायात सञ्चालन गर्न सम्भव नभएको स्थानीयवासी चीन रावतले जानकारी दिए ।

 

सडक क्षतिग्रस्त हुँदा पनि मर्मत गर्न सरोकारवाला निकाय मौन रहेको उनले बताए । क्षतिग्रस्त सडक सिमकोट गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनामध्ये कसले मर्मत गर्ने भन्ने अन्योल रहेको स्थानीयवासीले बताउने गरेका छन् । सडक अवरुद्ध भएपछि सर्वसाधारण पैदल हिँड्न बाध्य छन् ।