close

स्थानीय तहबाटै कन्सुलर विभागको सेवा 

स्थानीय तहबाटै कन्सुलर विभागको सेवा 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले कन्सुलर सेवा विभागबाट दिइने सेवा स्थानीय तहबाट दिने भएको छ । विभागले विदेशमा भएका नागरिकको मृत्यु भए शव ल्याउने, मुद्दा लड्नुपर्ने भए लड्ने, अलपत्र नागरिकलाई ल्याउने, क्षतिपूर्ति दाबी गर्ने सेवा दिइरहेको थियो । 

 

विभागबाट उपलब्ध यी सेवाका लागि देशभरका नागरिकले काठमाडौं आउनुपर्ने बाध्यता थियो । तर, अब विभागले यो सेवा स्थानीय तहबाटै दिने भएपछि हरेक स्थानीयले गाउँमै सेवा लिन सक्नेछन् ।

 

सेवा विस्तार भएपछि अब जोकोही नेपाली नागरिकले विदेशमा अलपत्र भए वा अन्य समस्यामा परे आफ्नो स्थानीय तहबाट निवेदन दिन सक्नेछन् । स्थानीय तहबाट यो सेवा दिएर मानिसलाई सेवा लिन सहज बनाइन लागेको कन्सुलर विभागका महानिर्देशक धनबहादुर वलीले बताए । 

 

‘कन्सुलर सेवा विभागको सेवा स्थानीय तहबाट दिएर नागरिकलाई सजिलो बनाइदिन लागिएको हो,’ उनले भने, ‘हामीले दिने सेवा भनेको स्थानीय तहले गरिरहेका छन् । त्यसलाई व्यवस्थित गर्न मात्रै लागिएको हो ।’ 


यसले संघीयतालाई पनि बल पुग्ने उनले बताए । ‘देश संघीयतामा गइसकेपछि यति सेवा लिन किन केन्द्र धाउने ? गाउँबाटै सेवा पाएपछि पक्कै पनि संघीयताअनुसारको काम पनि हुन्छ,’ उनले भने । 

 

विभागले पालिकाहरूलाई अनलाइनमार्फत सेवामार्फत जोड्ने महानिर्देशक वलीले जानकारी दिए । उनका अनुसार पालिकाहरूमा कसैले निवेदन दिएपछि सेवाग्राहीको काम कहाँ पुग्यो, के भइरहेको छ आदि विषयको जानकारी पालिकाबाटै लिन सकिनेछ । विभागले २५ भदौबाट आफ्नो सेवा सुरु गर्ने भएको छ ।

 

पहिलो चरणमा काठमाडौंका ११ स्थानीय तहबाट यो सेवा सुरु गर्न लागिएको महानिर्देशक वलीले बताए । ‘हामीले शुक्रबारबाट सेवा सुरु गर्न लागेका छौँ,’ उनले भने, ‘पहिलो चरणमा काठमाडौंका ११ स्थानीय तहबाट सुरु गर्दै छौँ ।’

 

सेवाबारे स्थानीय तहका कर्मचारीलाई समस्या नहोस् भनेर विभागले हातेपुस्तिका पनि निर्माण गरेको छ । २ वर्षभित्र सेवा देशैभरका पालिकामा पुर्‍याउने योजना रहेको उनले बताए ।