close

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

Trulli
ADVERTISEMENT

काठमाडौं– पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि  पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

 

कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराउन थालिएको छ ।

 

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ । विशेष पूजा भने आजदेखि खुला नगरिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । 

 

आज बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उनले बताए । साढे चार महिनापछि खोलिएको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार कोषले क्षमापूजा गरेको थियो ।

 

विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ देखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो ।

 

महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ । कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द गरिएको छ । आजदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको कोषले जनाएको छ । आज गणेश चतुर्थी पर्व परेकाले चन्द्रविनायक मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।