close

बेहाल प्रदेश राजधानीकै सडक : पानी पर्दा ताल, घाम लाग्दा बुङबुङ्ती धुलो

बेहाल प्रदेश राजधानीकै सडक : पानी पर्दा ताल, घाम लाग्दा बुङबुङ्ती धुलो

Trulli
ADVERTISEMENT

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी । यहाँका प्रमुख सडकदेखि चार लेन सडकको अवस्था उस्तै छ । प्रदेश राजधानी भएकाले पनि अत्यधिक सवारी चाप बढेसँगै सडकमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । सोही कारण यात्रुले सास्ती झेल्दै आएका छन् ।

 

सडक निर्माण समयमै नगर्दा यात्रु तथा गाडी चालकले सास्ती भोग्दै आएको स्थानीयको भनाइ छ । वीरेन्द्रनगरको मंगलगढी, लाटीकोइली हुँदै ऐतिहासिक काँक्रेबिहार जोड्ने सडक पुनर्निर्माण अलपत्र पर्दा यात्रुले सास्ती भोग्दै आएको वीरेन्द्रनगर वडा नम्बर ९ का मोती परियार बताउँछन् । 


‘पानी पर्दा हिलाम्ये सडकमा यात्रा गर्नसमेत अप्ठेरो हुन्छ । निर्माणको चरणमा रहेका सडक लामो समयदेखि अलपत्र अवस्थामा छन् । राजधानीको सडकको अवस्था बेहाल छ’, उनले भने 


सुब्बाकुना–बांगेसिमल, मंगलगढी– काँक्रेविहार–एयरपोर्ट चोक र नगरपालिकाका वडा जोड्ने सडकको अवस्था बेहाल भएपछि नागरिकले सास्ती पाएका हुन् ।

 

सडक पानी पर्दा हिलाम्ये र घाम लाग्दा धुलाम्मे हुँदा नजिकका बस्तीमा बस्नै नसकिने अवस्था रहेको अर्का स्थानीय प्रमोद पाण्डे सुनाउँछन् । बजेट हुँदाहुँदै पनि सडक निर्माण अघि बढ्न नसक्नु प्रदेश र स्थानीय सरकारको कमजारी भएको उनको बुझाइ छ ।


ऐतिहासिक क्षेत्रका सडकको नाजुक अवस्था देखेर यहाँ आउने पर्यटकलाई पनि दिक्क लाग्ने गरेको वीरेन्द्रनगर वडा नम्बर ६ का नमन शाहीले बताए । चालू आर्थिक वर्षमा राजधानी एकीकृत पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० करोड रुपैयाँ बजेट छुट्याएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रशासन योजना तथा अनुगमन महाशाखाका सिडिइई गोपाल शर्माले जानकारी दिए ।


उनका अनुसार मंगलगढी–काँक्रेविहार सडकको काम लगत्तै सञ्चालन हुने र अरू सडकको काम पनि तत्काल सञ्चालन गर्ने गरी ठेकेदार कम्पनीलाई ताकेता गरिएको छ ।