close

जिल्ला अस्पताल अछाममा ज्वरोका बिरामीले भरिए शय्या, भुइँमै बिरामीको उपचार

जिल्ला अस्पताल अछाममा ज्वरोका बिरामीले भरिए शय्या, भुइँमै बिरामीको उपचार

Trulli
ADVERTISEMENT

अछाम– जिल्ला अस्पताल अछाममा केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि भर्ना गर्न शय्या अभाव भएको छ । मौसम प्रतिकूलताका कारण अस्पतालमा बिरामीको संख्या बढेको जिल्ला अस्पतालका डा. अतुल भारद्वाजले जानकारी दिए ।

 

अहिले दैनिक ४०/५० जना बिरामी उपचार सेवा लिन अस्पताल आइरहे पनि शय्या अभावमा गुणस्तरीय सेवा दिन नसकिएको उनले बताए । 

 

‘१५ शय्या कायम भएको जिल्ला अस्पतालमा ३० बढी बिरामी भर्ना भएपछि थप भर्ना गर्न समस्या छ । शय्या अभावमा काउन्टरमा समेत राखेर उपचार गर्नुपर्ने बाध्यता छ । बिरामी संख्या बढेपछि भुइँमै उपचार गराइरहेका छौँ’, डा. भारद्वाजले भने । अस्पतालमा पछिल्लो समय छातीको समस्या भएका बिरामी बढी भर्ना भएपछि नयाँले शय्या पाउनै मुस्किल भएको उनको भनाइ छ ।

 

निमोनिया, झाडापखाला, ज्वरोलगायतका अन्य बिरामी अस्पतालमा आउने गरेका छन् । अस्पतालमा ५ वर्षमुनिका बालबालिका बढी आउने गरेकाले तिनलाई छुट्टै राख्नुपर्ने भए पनि शय्या अभावमा सबै बिरामीलाई एकै ठाउँ राख्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

 

एउटै स्थानमा राखेर उपचार गर्नुपर्दा अन्य रोग सर्ने सम्भावाना उत्तिकै रहेको डा. सोनाली बास्कोटाले बताइन् । बिरामी तथा तिनका कुरुवालाई समेत झन् बढी समस्या भएको छ ।

 

मंगलसेन नगरपालिका वडा नम्बर १ का छत्रबहादुर थापाले अस्पतालमा उपचारका लागि शय्या नपाएको गुनासो गरे । ‘अस्पतालमा बिरामीलाई एकै ठाउँ राखेर उपचार गर्न थालिएपछि कुरुवालाई पनि संक्रमणको जोखिम छ’, उनले भने ।

 

अस्पतालमा बिरामीको संख्या दिनप्रतिदिन बढिरहे भए पनि अस्पतालमा शय्याको कमी हुँदा बिरामीले उपचारसमेत नपाउने अवस्था सिर्जना भएको छ ।अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने भनिए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । अस्पतालको भौतिक संरचना गुणस्तरीय नहुँदा थप समस्या  छ ।

 

सदरमुकाममा रहेको जिल्ला अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएपछि भुइँमै राखेर उपचार सेवा दिनुपर्ने बाध्यता रहेको डा. बास्कोटाले बताइन् । कोरोना संक्रमणको जोखिम कायमै रहेका बेला सबै प्रकृतिका बिरामीलाई एकै ठाउँ राखेर उपचार दिँदा अन्य रोग फैलिने सम्भावना रहेको अस्पताल प्रशासनले बताएको छ ।

 

डा. बास्कोटाका अनुसार मापदण्डबिनाको पुरानो भौतिक संरचनामा गुणस्तरीय उपचार सेवा दिन कठिनाइ हुने गरेको छ । अस्पतालमा आउने भाइरल रोगका बिरामीलाई यो समय आफ्नो स्वास्थ्यप्रति ख्याल गर्न सचेत गराउँदै उपचारपछि फर्काउने गरिएको छ । बर्खाको समय पानीजन्य रोग बढी देखिने भएकाले यस्ता रोगबाट सुरक्षित रहन सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।