close

धनुषामा स्थानीय तहअनुसार सेवातालिका सार्वजनिक

धनुषामा स्थानीय तहअनुसार सेवातालिका सार्वजनिक

Trulli
ADVERTISEMENT

धनुषा- धनुषास्थित जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि सेवाग्राहीलाई स्थानीय तहअनुसार सुविधा दिन समयतालिका सार्वजनिक गरिएको छ । समयतालिका सार्वजनिक भएपछि शनिबारसमेत जिल्ला प्रशासन कार्यालय धनुषा खुला रहनेछ ।


कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणलाई दृष्टिगत गर्दै प्रशासन कार्यालयको परिसरमा आउने सेवाग्राहीको चापलाई चापलाई सहज बनाउने उद्देश्यले कार्यतालिका सार्वजनिक गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले जानकारी दिए ।


‘विभिन्न स्थानीय तहका सेवाग्राहीले सेवा लिन पाउने गरी कार्यतालिका सार्वजनिक गरिएको । कार्यतालिकाअनुसार सेवा लिन पाइने भएपछि कार्यालयमा भीड पनि कम हुने अपेक्षा छ’, उनले भने । 


तोकिएको दिन मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा प्रवेश गर्नुपर्ने तथा नागरिकता र नाबालक परिचयपत्र बनाउने हकमा सेवाग्राही र सनाखत गर्ने थप एक जना मात्र कार्यालय परिसरमा प्रवेश गर्न सक्ने जारी सूचनामा उल्लेख छ । ‘सेवा लिन आउनुअघि सेवा प्राप्त गर्नका लागि सम्पूर्ण कागज/प्रमाण साथमा लिई आउनुपर्नेछ । कागज/प्रमाण नपुगे सेवा दिन सकिनेछैन,’ सूचनामा भनिएको छ ।


यस्तै, जिल्ला प्रशासनमा कामविशेषले आउने सेवाग्राहीले अनिवार्य रूपमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ । रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिइने सूचनामा उल्लेख छ ।


कार्यालयको भीडभाड र कोभिड- १९ संक्रमणको अवस्थाअनुसार उल्लिखित तालिकामा आवश्यकताअनुसार थपघट र परिमार्जन गर्दै लगिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।


संघसंस्था दर्ता र नवीकरण आइतबारदेखि बुधबारसम्म र पत्रपत्रिका/छापाखाना दर्ता र विधान संशोधनसम्बन्धी सेवा बिहीबार र शुक्रबार मात्र दिइने सूचनामा भनिएको छ ।


यस्तै, सक्कल नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, राहदानी आदि सेवा आइतबार हंसपुरनका, धनुषाधाम नगरपालिका आदि, सोमबार नगराइन, सबैला, गणेशमान चारनाथ नगपालिका, मंगलबार जनकपुरधाम उप–महानगर, मिथिला बिहारी नगरपालिका, बुधबार जनकनन्दनी, लक्ष्मीनिया  र औरही गाउँपालिकाका सेवाग्राहीले जिल्ला प्रशासनबाट सेवा लिन सक्ने गरी तालिका सार्वजनिक भएको छ ।


यस्तै, बिहीबार जनकपुरधाम उपमहानगर, मुखियापट्टी मुसहरनिया गाउँपालिका र शुक्रबार मकला नगरपालिका, धनौजी गाउँपालिका र शहीदनगर नगरपालिकालाई सेवा उपलब्ध हुनेछ ।


शनिबार क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाका सेवाग्राहीले बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।