close

युवा परिषद् र पञ्चेश्वर पालिकासँग नबिल बैंकको समझदारी

युवा परिषद् र पञ्चेश्वर पालिकासँग नबिल बैंकको समझदारी

Trulli
ADVERTISEMENT

काठमाडौं– नबिल बैंकले युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित राष्ट्रिय युवा परिषद् र सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पञ्चेश्वर गाउँपालिकासँग त्रिपक्षीय समझदारी गरेको छ । 


पञ्चेश्वर पालिकाका स्थानीय युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउनु समझदारीको लक्ष्य रहेको बैंकले बताएको छ ।


यसबाहेक उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याई देशभित्रै युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जना द्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य राखिएको छ । 


नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा, युवा परिषद्बाट प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना र पञ्चेश्वर पालिका अध्यक्ष गोरखबहादुर चन्दले समझदारीपत्रमा हस्ताक्षर गरे । 


सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकीकरण र उद्यमशीलता विकासका लागि ल्याइएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ ।