close

इस्मामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्दै

इस्मामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्दै

Trulli
ADVERTISEMENT

गुल्मी - गुल्मीको बुल्मचौरमा १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय फुटबल रंगशालाको पहिलो चरणको काम सम्पन्न भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा–६ अम्मरपुरको बुल्म चौरमा लखन थापाको नामबाट फुटबल रगंशाला निर्माण थालिएको हो ।


३ वर्षमा १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान निर्माण भएको छ । हाल उपभोक्ता समिति र सुनकोसी अभियान जेभीमार्फत करिब ३ करोड लागतमा रंगशालाको माटो कटिङ, फिलिङ, वाल निर्माण र दुबो रोप्ने काम भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिए । 


राष्ट्रिय खेलकुद परिषद्बाट बहुवर्षीय ठेक्कामार्फत रंगशाला निर्माणको काम भएको राखेपका इन्जिनियर माधव देवकोटाले बताए । यो चौर जिल्लाकै ठूलो हो । 


निर्माणाधीन रंगशाला सदरमुकाम तम्घासबाट करिब २० किलोमिटरको दूरीमा पर्छ । यो क्षेत्रमा खालि चौर, नजिकै मदन भण्डारी राजमार्ग, विचित्र गुफा तथा जनजाति र पिछडिएको कुमाल समुदायको बस्ती छ ।


रंगशला निर्माणसँगै स्थानीय र जिल्लाको समेत समृद्धि हुने आशमा आफूहरू रहेको स्थानीय बोमलाल भण्डारी बताउँछन् ।


रंगशालाको पूरै संरचना निर्माणका लागि १ अर्ब ५० करोड बजेट अनुमान गरिएको छ । यो वर्ष पनि रंगशाला घेराबार, नाली र गार्डरुमलगायत संरचना निर्माणका लागि सुनकोसी अभियान जेभीले डेढ करोड बढीको टेन्डर पाएको प्रोप्राइटर गणेशप्रसाद आचार्यले बताए ।


उनका अनुसार गत वर्ष काम गरेको रकम  कार्यालयले अहिले उपलब्ध गराएको छैन । रंगशाला गुल्मीका नागरिकको भाग्य भविष्य हो । तर, अझै धेरै संरचना निर्माण गर्नुपर्ने भएकाले बाँकी काम भने समयमै सम्पन्न हुनुपर्ने स्थानीयको जोड छ । 


पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले बहुवर्षीय योजना भएकाले रकम अभाब नहुने र काम नियमित हुने बताए । ‘यो प्रदेशकै गौरवको योजना भएकाले काम र बजेटका विषयमा चासो दिँदै आएको छु’, सांसद विष्टले भने ।