close

जथाभावी गिटी–बालुवा उत्खननले भासिँदै सडक

जथाभावी गिटी–बालुवा उत्खननले भासिँदै सडक

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली राजमार्गको जुम्ला सडक खण्डअन्तर्गत चन्दननाथ नगरपालिका वडा नम्बर ७ खलचौरको बेउलाबेउली ढुंगास्थित गिटी–बालुवा उत्खनन गर्दा सडक नै जोखिममा परेको छ ।

 

कठायत कन्स्ट्रक्सन क्रसर उद्योगले मनलाग्दी बालुवा, गिटी उत्खनन गरेपछि सडकनै जोखिममा परेको हो । सरोकारवाला निकाय तथा स्थानीय सरकारको ध्यान नपुग्दा सार्वजानिक राजमार्गमा क्षति पुगेको छ । 

 

जुम्लाका कांग्रेस नेतासमेत रहेका निर्माण व्यवसायी राजुसिंह कठायतले नापी गरेको सडक छेउ नजिकको पाखोमा गिटी, बालुवा उत्खनन गर्दा सडक भत्किने अवस्थामा पुगेको हो ।

 

उत्खनन्ले एकातिर प्राकृतिक सुन्दरता हराउँदै गएको छ भने अर्कोतिर बाढीपहिरो, भूक्षयजस्ता प्राकृतिक विपत्तिको जोखिमसमेत बढेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

 

उनले भनिन्, ‘सडकको मुख्य भागमा छ्याप्छ्याप्ती बालुवा, गिटी उत्खनन गर्दा यातायात सञ्चालन गर्न जोखिम भएको छ । बालुवा, गिटी उत्खनन गर्दा सडकमै ठूलो खाल्डो परेको छ ।’ 

 

सडकको केही भागसमेत भासिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी प्रसार्इं नेतृत्वको सुरक्षा निकाय र सडक डिभिजन कार्यालयको टोलीले स्थलगत अनुगमन गरेको छ ।

 

मानवीय क्षति हुने जोखिम बढेकाले उत्खनन रोकेर तत्काल सडकका खाल्डो पुर्नसमेत सुरक्षा निकायको टोलीले निर्देशन दिएको छ ।

 

सडक भत्किने गरी जिल्लामा अनधिकृत बालुवा, गिटीको उत्खनन भइरहँदा स्थानीय निकाय भने मौन छ । ‘वातावरणीय प्रभाव मूल्याकंन नगरी जथाभावी बालुवा, गिटी निकाल्न मिल्दैन । हामीसँग कसैले समन्वय गरेका छैनन् ।’

 

निर्माण व्यवसायी कठायतले आफ्नो व्यक्तिगत फाइदाका लागि जुम्ला राजमार्गलाई जोखिम अवस्थामा पु¥याएको स्थानीयको गुनासो छ । यस विषयमा बुझ्न खोज्दा उनले फोनसमेत उठाएनन् ।