close

विद्यालय खोल्दै स्थानीय तह, पूर्वतयारी नहुँदा जोखिम उत्तिकै

विद्यालय खोल्दै स्थानीय तह, पूर्वतयारी नहुँदा जोखिम उत्तिकै

Trulli
ADVERTISEMENT

ओखलढुंगा– कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा हटाएपछि स्थानीय तहले विद्यालय सञ्चालन सुरु गरेका छन् । आइतबारबाट भौतिक उपस्थितिमि सबै गतिविधि सञ्चालन गर्न दिइने निर्णयसँगै स्थानीय तहले विद्यालय सञ्चालन गरेका हुन् ।

 

कतिपय पालिकाले अघिल्लो साताबाटै विद्यालयमा आलोपालो विधि अपनाएर पठनपाठन सुरु गरेका थिए । शनिबारको बैठकमा कोरोना संक्रमितको संख्या ५० भन्दा कम भएको, अस्पतालमा भर्ना १ प्रतिशतभन्दा कम रहेकाले जिल्लामा सबैखाले गतिविधि सुरु गर्न भौतिक रूपमै अनुमति दिने निर्णय गरेको थियो ।

 

बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना हुनुपर्ने सर्त राखेको छ । विद्यालयमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र स्यानिटाइजर प्रयोग तथा हात धुने व्यवस्था अनिवार्य हुनुपर्ने स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकारी पुष्पराज पन्तले बताए । 

 


निषेधाज्ञा हटेपछि कार्यपालिकाले निर्णय गरेर विद्यालय सुरु गरेका हुन् । सिद्धिचरण नगरपालिका, मानेभन्ज्याङ, चम्पादेवीलगायत पालिकाले सूचना जारी गरेरै स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक उपस्थितिमा विद्यालय सुरु गरेका छन् । 

 

विद्यालयमा भौतिक दूरी कायम गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, विद्यार्थी संख्याको आधारमा जोरबिजोर प्रणाली अपनाएर पठनपाठन सुरु गर्न भनिएको मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए । ‘सुरक्षा मापदण्ड अपनाउनैप¥यो । सधैँ विद्यालय बन्द गर्दा बालबच्चा बिग्रेको गुनासो आउन थालेको छ,’ राईले भने ।  विद्यालयमा कक्षा सञ्चालन चुनौतीपूर्ण भए पनि सञ्चालनको विकल्प नभएको स्थानीय तहको निचोड छ । 

 

विद्यालय सञ्चालन निकै चुनौतीपूर्ण भएको सिद्धिचरण वडा नम्बर ७ को बिगुटार माविका प्रधानाध्यापक युवराज दाहाल बताउँछन् । स्वास्थ्य सुरक्षा मापदण्ड र स्वास्थ्य सामग्री व्यवस्थापनमा जनशक्ति र खर्च बढ्ने भएकाले स्थानीय तहले यसबारे सोच्नुपर्ने अभिभावक र विद्यालयको भनाइ छ । 

 

जोर–बिजोर कक्षा सञ्चालनदेखि स्वास्थ्य सामग्रीको व्यवस्थापनमा चुनौती बढेको उनीहरूको भनाइ छ । विद्यालयले भौतिक दूरी र मास्क तथा स्यानिटाइजर उचित व्यवस्थापन गर्न सक्ने अवस्था नभएको बताएका छन् । भौतिक दूरी कायम गराउन आलोपालो गर्न सकिए पनि अन्य स्वास्थ्य सामग्री किन्न बजेट अभाव हुने उनीहरूको भनाइ छ । विद्यालयमा विद्यार्थीले मास्क प्रयोग गर्ने गरे पनि धेरै दिनदेखि एउटै मास्क प्रयोग गर्ने, भौतिक दूरीमा नबस्नेलगायत समस्या देखिएका छन् । 

 

जिल्लाका अन्य तहले पनि सूचना निकालेर विद्यालय सञ्चालनको तयारी गर्न परिपत्र गरेका छन् । विद्यालयमा पठनपाठन नहुँदा बालबालिका मोबाइल र टिभीमा अलमलिने, पठनपाठनमा ध्यान नदिनेजस्ता समस्या भएको भन्दै अभिभावकले विद्यालय खुलाउन माग गर्दै आएका थिए ।

 

जिल्लामा कोरोना संक्रमितको संख्या १ सयभन्दा कम भएपछि निषेधाज्ञा खुलेको छ भने हाटबजार तथा पसलसमेत खुलेपछि विद्यालय पनि सुचारु गरिएको सदरमुकामस्थित सगरमाथा जनता माविका प्रधानाध्यापक डिल्ली कार्की बताउँछन् । विद्यालय सुरु भए पनि जोखिम उच्च रहेको र व्यवस्थापन चुनौतीपूर्ण भएको कार्कीको भनाइ छ । सिद्धिचरण नगरपालिकाभित्रका ३ वटा सामुदायिक क्याम्पसले पनि पाठनपाठन सुरु गर्ने तयारी थालेका छन् । सदरमुकामको जिल्लाकै पुरानो क्याम्पस ओखलढुंगा क्याम्पस ओखलढुंगाले एक साता पहिलेबाटै कक्षा सञ्चालन सुरु गरेको छ । 

 

अनलाइन कक्षा सञ्चालन गरिरहेको उक्त क्याम्पसले नगरपालिकाले शिक्षण संस्था भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको, इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीको अनलाइन कक्षामा पहुँच नभएकाले भौतिक उपस्थितिमै कक्षा प्रभावकारी बनाउन सकिने क्याम्पस प्रमुख सुमन राजभण्डारी बताउँछन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन भने विद्यार्थीलाई चुनौती रहेको उनको अनुभव छ । ‘मास्क लगाउनसमेत बारम्बार सचेत गराउनुपर्छ,’ उनले भने । शैक्षिक संस्था खुलेपछि आउजाउ बढी हुने हुँदा कोरोना संक्रमण दर बढ्न सक्ने भएकाले सचेत हुनुपर्नेमा सरोकारवालाको जोड छ । 

 

विद्यार्थीलाई खोप धमाधम

विद्यालय सुचारु हुनुपूर्व नै स्वास्थ्य कार्यालयले विद्यार्थीलाई खोप दिन थालेको छ । तीन स्थानीय तहका विद्यार्थीलाई खोप दिइसकेर थप तीन तहमा सुरु गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्तले जानकारी दिए ।  ‘अहिले धमाधम खोप लगाउने काम भइरहेको छ,’ उनले भने, ‘पहिलो चरणको खोप पूरा गरेपछि दोस्रो चरणको खोप पनि चाँडै लगाइनेछ ।’

 

विद्यार्थीलाई भेरोसेल खोप लगाइएको छ । विद्यार्थीमध्ये १८ वर्षमाथिकाले मात्रै खोप लगाएका छन् । सोभन्दा तलको उमेर समूहका लागि खोप सिफारिस नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।