close

म्याग्दीमा असोज १ गतेदेखि विद्यालय खुल्ने

म्याग्दीमा असोज १ गतेदेखि विद्यालय खुल्ने

Trulli
ADVERTISEMENT

म्याग्दी– कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्ड असोज १ गतेदेखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गत वैशाख दोस्रो हप्तादेखि बन्द भएका शैक्षिक संस्था र तातोपानीका कुण्ड खुलाउने निर्णय गरेको हो । 

 

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोभिड–१९ सम्बन्धी सूक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय र तातोपानी कुण्ड खुलाउने निर्णय गरिएको जानकारी दिए । ‘बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट विद्यालय खुलाउन सिफारिस भएर आएको थियो’, उनले भने , ‘कोरोना सङ्क्रमणको दर घटेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय भएको हो ।’ 

 

धवलागिरि, रघुगङ्गा, मङ्गला र अन्नपूर्ण गाउँपालिकाले यसअघि नै विद्यालय सञ्चालन गरिरहेका छन् । यसैगरी म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डमा जिल्लावासीका लागि सर्त पालना गरेर स्नानका लागि खुलाउने निर्णय भएको छ । 

 

कोरोना विरुद्धको खोप लगाएको १० दिन नाघेका र ७२ घण्टाभित्रको पीसीआर तथा एन्टिजेनको नेगेटिभ रिपोर्ट भएका जिल्लावासीलाई तातोपानीमा स्नान गर्न दिइने भएको छ । बेनी नगरपालिकाको सिंगा, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग, रातोपानी, सेकार्कु, रघुगङ्गाको दर्मिजा, धवलागिरीको बगर र गुर्जामा प्राकृतिक तातोपानीका कुण्ड रहेका छन् । 

 

म्याग्दी कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५० जनाभन्दा कम छ । पैँतालिसमध्ये ३० वटा वडामा कोरोना सङ्क्रमित छैनन् । जिल्ला रेडजोनबाट ग्रिनजोन बनेको छ । हालसम्म जिल्लाभर तीन हजार २४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार म्याग्दीमा हालसम्म ३२ हजार जनाभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । अठार वर्षभन्दा माथि उमेर समूहका नागरिकको सङ्ख्या ६७ हजार छ । 

 

धवलागिरि गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लाभित्र ५४ र जिल्ला बाहिर २६ जना गरी कूल ८० को कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।