close

बन्दीपुरको नाहालामा पशुसेवा केन्द्रको नयाँ भवन

बन्दीपुरको नाहालामा पशुसेवा केन्द्रको नयाँ भवन

Trulli
ADVERTISEMENT

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा १ करोड रुपैयाँको लागतमा पशु सेवा केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका लगानीमा निर्माण सम्पन्न भएको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले शुभारम्भ गरे  ।

२०७७ भदौदेखि निर्माण सुरु भएर चैतमा निर्माण सम्पन्न भएको पशुसेवा केन्द्रको भवनको स्वामित्व गत साउन पहिलो साता गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।  ९८ लाख ६१ हजार ४४९ को लागतमा भवन निर्माण गरिएको हो । सोही भवनबाट गाउँपालिकाको पशु सेवा शाखा पनि सञ्चालन गरिएको छ । गाउँपालिका अध्यक्ष थापाले पशुपालनलाई व्यावसायिक बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

 

गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले परम्परागतरूपमा पशुपालन गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको छ भने । भवन निर्माणपछि गाउँपालिकाभित्रका पशुपालक कृषकले अब पशुको उपचार यहीबाटै गर्न पाउने वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । चिकित्सकसहितको दरबन्दी खटाउने तयारी गरिएको छ । साथै यहाँ प्रयोगशालासमेत सञ्चालन हुनेछ । प्रयोगशालाका लागि आवश्यक उपकरण नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सहयोग गर्ने भएको छ ।

 

दरबन्दी अभाव भएकाले पूर्ति गरेर उपकरणसहित सेवा प्रवाहको थालनी गरिने पशु सेवा शाखा प्रमुख मधु न्यौपानेले जानकारी दिए । पशुको उपचारका लागि दमौली जानुपर्ने बाध्यता अब हट्ने उनले बताए । सुरुआती चरणमा यहाँबाट गोबर परीक्षण, कृत्रिम गर्भाधानलगायतका सेवा दिने तयारी थालिएको छ । 

 

उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि पशु सेवा केन्द्र अतिआवश्यक थियो । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान गरेकी थिइन् ।     यो वडालाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित बाख्रा पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको छ । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ । ‘बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालिम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ’, न्यौपानेले भने, ‘व्यावसायिकरूपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।’

 

गाउँपालिकाले पशुपालक कृषकलाई लक्ष्य गरी माउ बाख्रा वितरण, दूध उत्पादनमा प्रतिलिटर १ रुपैयाँ  अनुदान, घाँस तथा औषधि वितरणलगायतका सहयोग गर्दै आएको छ । गाउँपालिकाले बन्दीपुर–५ मा सेवा केन्द्र स्थापना गरी पशुपालक कृषकलाई सेवा दिइरहेको छ ।