close

जुम्ला अस्पताल आइपुग्यो राष्ट्रिय आविष्कार केन्द्रको टोली 

जुम्ला अस्पताल आइपुग्यो राष्ट्रिय आविष्कार केन्द्रको टोली 

Trulli
ADVERTISEMENT

जुम्ला– राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आइपुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेका विभिन्न उपकरणको अवस्था बुझ्न तथा बिग्रेका बनाउन आविष्कार केन्द्रको टोली जुम्ला पुगेको हो ।

 

आइतबार कर्णाली प्रतिष्ठान जुम्ला पुगेको राष्ट्रिय आविष्कार केन्द्रका वायो मेडिकल इन्जिनियर सञ्जयबहादुर सिंह र उमेश किराँतीसहित ७ जनाको टोलीले प्रतिष्ठानका विभिन्न उपकरणको अवस्था अवलोकन तथा मर्मतसम्भार गरेको हो ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका वायो मेडिकल इन्जिनियर अर्जुनबहादुर सिंहले दुर्गमका अस्पतालको उपकरण मर्मत तथा अवलोकनका क्रममा सुर्खेत, कालीकोट हुँदै आविष्कार केन्द्रको टोली जुम्ला आएको बताए । उनले भने, ‘टोलीले प्रतिष्ठानका अक्सिजन कन्सन्ट्रेटर तथा ल्याबका गरी २÷३ वटा उपकरण मर्मत गरेको छ । आइसियु, भेन्टिलेटर, ल्याब, ओटी, भिडियो, अडियो एक्सरेलगायत विभिन्न मेसिनरी उपकरणको अवलोकन गरेको छ ।’

 

राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोली जुम्लामै पुगेर उपकरण मर्मत, अवलोकन तथा आवश्यक ज्ञान दिएकामा राहत मिलेको प्रतिष्ठानका वायो मेडिकल इन्जिनियर सिंहको भनाइ छ । उनले भने, ‘केही उपकरको वारेन्टी नै सकिएको हुन्छ । तर, कहाँ, के समस्या भयो भन्ने सजिलै थाहा पाउन मुस्किल हुन्छ । बिजुलीको समस्याले बिग्रेका उपकरण मर्मत गर्न उत्तिकै समस्या थियो । तर, आविष्कार केन्द्रको टोलीले केही मेसिन मर्मत र केही मेसिनको समस्या पत्ता लगाएको छ ।’

 

दुर्गममै पुगेर उपकरणको मर्मत गर्दा कर्णाली प्रतिष्ठानलाई राहत भएको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनका अनुसार आविष्कार केन्द्रको टोलीसँग प्रतिष्ठानका उपकरण मर्मत डिपार्टमेन्टका कर्मचारीले छलफल तथा परामर्श गरे । आविष्कार केन्द्रले मर्मतका लागि थप्नुपर्ने उपकरण अनुदानमा उपलब्ध गराउनेछ ।


अस्पताल निर्देशक डा. राजीव शाहले आविष्कार केन्द्रको प्राविधिक टोली जुम्ला आउँदा कर्णाली प्रतिष्ठानले धेरै लाभ लिएको बताए । उनले भने, ‘सबै उपकरण सधैँ राम्रै हुन्छन् भन्ने छैन । हामीले सेवा दिइरहेका उपकरणमा पनि केही खराबी हुन सक्छन् । ती समस्या पत्ता लगाउन प्रतिष्ठानमै आएर तालिम दिनुका साथै उपकरणको खराबी सोधीखोजी राहत मिलेको छ ।’ आइतबार उपकरण मात्रै अनुगमन तथा मर्मत गरेको प्राविधिक टोली सोमबार प्रतिष्ठानका उपकरण मर्मत डिपार्टमेन्टका कर्मचारीसँग उपकरण मर्मतबारे छलफल गरेको प्रतिष्ठानले जनाएको छ । 

 

दुर्गमका अस्पतालमा बिग्रेर थन्किएका विभिन्न उपकरणलाई प्रयोगमा ल्याई नागरिकलाई सेवा प्रदान गर्न केन्द्रको प्राविधिक टोलीको सहयोगले नागरिकलाई राहत पुग्ने विश्वास लिइएको छ । आइतबार जुम्ला पुगेको उक्त टोली मंगलबार मुगु अस्पताल जाँदै छ ।