close

फुङलिङमा फोहोरमैला व्यवस्थापन केन्द्र बन्दै

फुङलिङमा फोहोरमैला व्यवस्थापन केन्द्र बन्दै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिकाले निर्माण गर्ने फोहोरमैला व्यवस्थापन केन्द्रका लागि वडा–३ को करिव ७५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । 


जग्गा मुआब्जा निर्धारण समितिको निर्णयअनुसार ७४ रोपनी १२ आना १ पैसा १ दाम बराबरको जग्गा अधिग्रहण गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाई‌ले जानकारी दिए ।


उनका अनुसार हेमबहादुर पालुङ्वा, सुखमाया लिम्बुनी, सूर्यबहादुर लिम्बू र कैलाश लिम्बूको नाममा रहेको १२ कित्ता जग्गा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि अधिग्रहण गरिएको हो ।


प्रशासन कार्यालयले निर्धारित मुआब्जा बुझ्नका लागि जग्गाधनी प्रमाणपुर्जा, तिरो तिरेको रसिद र नागरिकताको प्रमाणपत्रको छाया प्रति संलग्न राखी निवेदन पेस गर्न जग्गाधनीलाई असोज २४ को मितिबाट १५ दिने समय दिएको छ । 


मुआब्जा बुझ्नका लागि फुङलिङ नगरपालिकामा निवेदन दिनुपर्नेछ । प्रजिअ चापागाईंका अनुसार अधिग्रहण हुने जग्गाको मूल्य प्रतिरोपनी ८८ हजार रुपैयाँ कायम गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चालू आर्थिक वर्षमा नेपाल सरकारले १ करोड तथा नगरपालिका आफैंले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


अहिले नगरपालिकामा अस्थायी प्रकृतिको फोहोरमैला व्यवस्थापन केन्द्रबाट काम चलाइँदै आएको छ ।