close

कोहलपुरमा नियमविपरीत सञ्चालित औषधी पसलमा ताला

कोहलपुरमा नियमविपरीत सञ्चालित औषधी पसलमा ताला

Trulli
ADVERTISEMENT

बाँके– बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सञ्चालित तीन वटा मेडिकल सिल गरिएको छ । बजार अनुगमनका क्रममा अनधिकृत व्यक्तिबाट औषधी बिक्री वितरण गरिरहेका तीन मेडिकल सिल गरिएको हो । कोहलपुर वडा नम्बर ११ का मुख्य बजार र मेडिकल कलेज क्षेत्रमा सञ्चालित तीन मेडिकल हल सिल गरिएको संयुक्त बजार अनुगमन टोलीका सदस्य कोहलपुर नगरपालिकाका अधिकृत वीरबहादुर विकले जानकारी दिए ।

 

उनका अनुसार कोहलपुर क्षेत्रमा सञ्चालित मेडिकल अनधिकृत रूपमा सञ्चालन भइरहेको र सेवाग्राहीको स्वास्थ्यमा खेलवाड गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको थियो ।  आइतबार अनुगमन गरिएका नेपालगञ्ज मेडिकल कलेजको उत्तर गेट क्षेत्रमा सञ्चालित राकेश फार्मेसी, केसी फार्मेसी र कोहलपुर वडा नम्बर ११ न्यूरोडस्थित जीवनज्योति मेडिकल हललाई सिल गरिएको हो ।

 

मापदण्डविपरीत मेडिकल सञ्चालन गरिएका, अनधिकृत व्यक्तिबाट औषधी बिक्री गरिरहेका र टोली देख्नेबित्तिकै भाग्न प्रयास गर्ने व्यक्तिका मेडिकल सिल गरिएको अनुगमन टोलीमा सम्मिलित जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए । कोहलपुर क्षेत्रमा सञ्चालित मेडिकलका विषयमा जनगुनासो र उजुरी आएपछि अनुगमन गरिएको उनको भनाइ छ । सिल गरिएकामध्ये राकेश फार्मेसीले बिरामीले फिर्ता गरेका औषधी मान्यता प्राप्त डाक्टरबिना अन्य व्यक्तिले नै बिक्रीवितरण गरेको पाइएको थियो ।

 

यस्तै, केसी फार्मेसीमा अनुगमनको क्रममा मेडिकल हल सञ्चालनको मान्यता पाएका व्यक्ति नभेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका खरिदार सुरेशराज पौडेलले जानकारी दिए ।  ‘उक्त मेडिकलमा मान्यता प्राप्त व्यवसायी थिएनन् तर सेवा प्रवाह भइरहेको थियो’, पौडेलले भने, ‘औषधी वितरण गर्न अनुमति नपाएका व्यक्तिले सञ्चालन गरिरहेका थिए । अनुगगमन टोली आउँदा उनीहरूले भाग्ने कोसिस गरे ।’

 

यसैगरी जीवनज्योति मेडिकलले समेत अनुगमन टोली गएका बखत सम्बन्धित व्यवसायी अनुपस्थित रहेको, अन्य व्यक्तिले औषधी वितरणदेखि स्वास्थ्य जाँच गर्ने गरेको पाइएका कारण सिल गरिएको शर्माले बताए । त्यहाँ एचए अध्ययन गरेका व्यक्तिले मान्यता प्राप्त डाक्टरझैँ काम गरिरहेको पाइएको थियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, बाँके औषधी व्यवस्था विभाग र कोहलपुर नगरपालिका बजार अनुगमन समिति संयोजकलगायत सहभागी थिए ।