close

राप्तीमा मनाइयो बाल दिवस

राप्तीमा मनाइयो बाल दिवस

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरी ५७औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । यो वर्षको बाल दिवसको नारा ‘सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । 

 

बालबालिकाको क्षमता अभिवृद्धि, बाल सहभागिता, बाल संरक्षण तथा बाल विकासका लागि पालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बाल दिवस अवसर पारेर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

 

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, गाउँपालिकाको सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाललगायत सहभागी थिए । पालिका अध्यक्ष सुवेदीले संविधानमा बालबालिका हकका लागि गरिएको व्यवस्था, ऐन, राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय कानुनअनुसार बालबालिकाको सर्वांगीण विकासका लागि काम गरिँदै आएको बताए ।

 

उनले बालबालिकाको सुरक्षाका लागि स्थानीय सरकारले प्रयत्नशील रहेको बताउँदै विपद्मा आइपर्ने जोखिमबाट बालबालिकाका लागि सोचेजति उपलब्धि हासिल गर्न भने नसकिएको जानकारी दिए ।

 

पछिल्लो समय बालबालिका कोभिड–१९ बाट संक्रमित मात्र भइरहेकाले तिनको संरक्षणका लागि थप जिम्मेवार हुन उनले सबैलाई आग्रह गरे ।
माध्यमिक विद्यालयका १० जना विद्यार्थीले बक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाए । 


राप्तीका माध्यमिक विद्यालयका विद्यार्थी हेमन्त गिरी, ताराप्रसाद शर्मा, विवेक चौधरी, खेमा पौडेल, सञ्चिता भुसाल, रमेश सुन्दास, सृष्टि चौधरी, तिर्सना झाँक्री मगर, निलम श्रेष्ठ र प्रदीप घर्तीले वक्तृत्वकलामा सहभागिता जनाएका थिए । 

प्रतियोगितामा शंकर माध्यमिक विद्यालय पिपरीका रमेश सुन्दास प्रथम, आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाका निरज केसी द्वितीय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङका प्रदीप घर्तीले तृतीय स्थान हासिल गरे । तविजयी छात्रछात्रालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।