close

सेवाग्राहीले पत्तै नपाई मोबाइल बैंकिङबाट पैसा हराएपछि... 

ताप्लेजुङको पैसा गुल्मी र दाङ पुग्यो

सेवाग्राहीले पत्तै नपाई मोबाइल बैंकिङबाट पैसा हराएपछि... 

ताप्लेजुङको पैसा गुल्मी र दाङ पुग्यो

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ३ लिङ्खिमकी मञ्जिता मावो लिम्बूले आफूलाई जानकारी नदिई मोबाइल बैंकिङ सेवाबाट आफ्नो खाताको रकम निकालिएपछि छानबिनका लागि प्रभु बैंकको फुङ्लिङ शाखा र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । आफूले प्रभु बैंकको फुङ्लिङ शाखामा खोलेको खातामा पतिले विदेशबाट रकम पठाउने गरेको उनको भनाइ छ । तर, मोबाइल बैंकिङ सेवा लिए पनि रकम भने चेकबाटै झिक्दै आएकामा पछिल्लो पटक पैसा लिन आउँदा खातामा रकम नभएको पाइएपछि प्रहरी र बैंकलाई आग्रह गरेको उनले जानकारी दिइन् ।

 

मञ्जिताले खाताबाट यसअघि २ पटक चेकमार्फत पैसा झिकेकी छन् । मोबाइल बैंकिङ सेवा लिए पनि सञ्चालन गर्न नआउने उनको जिकिर छ ।  तर, आफ्नै ९८४६९२५४२८ नम्बरको मोबाइलबाट मोबाइल बैंकिङ प्रयोग गरी पटक–पटक गरेर उनको खाताबाट १ लाख ६३ हजार ९ सय ३० रुपैयाँ अन्यत्र ट्रान्सफर भएको छ ।  मञ्जिताका अनुसार विदेशमा रहेका पतिले १७ भदौ २०७८ मा १ लाख ६३ हजार ९ सय ३० रुपैयाँ पठाइदिएका थिए । सो रकम झिक्न उनी १९ भदौमा बैंकमा आउँदा खाता शून्य थियो ।

 

‘उहाँको मोबाइल बैंकिङ सेवाबाट विभिन्न बैंकहरूमा रकम ट्रान्सफर भएको अभिलेख देखिन्छ,’ प्रभु बैंकका फुङलिङ शाखा प्रबन्धक खगेन्द्र न्यौपानेले भने, ‘तर, उहाँले मोबाइल बैंकिङ सेवा चलाउन नजान्ने भनेकाले प्राप्त निवेदनका आधारमा हामीले ग्राहकको रकम कसरी ट्रान्सफर भयो भनेर खोजिरहेका छौँ ।’  यसमा बैंकको कुनै दोष नभएको उनको दाबी छ । प्रभु बैंकका अनुसार सो रकममध्ये एक पटक ५० हजार, अर्को पटक १३ हजार ५ सय गरी ६३ हजार ५ सय रुपैयाँ नेपाल बैंकको गुल्मी शाखामा खातावाल रहेका तेजबहादुर थापाको खातामा ट्रान्सफर भएको देखिन्छ ।

 

बाँकी १ लाख भने दुई पटक ५०–५० हजार रुपैयाँ गरी दाङ बस्ने सपना केसीको गरिमा विकास बैंकको खातामा ट्रान्सफर भएको देखिन्छ । एक बैंकबाट अर्को बैंकमा रकम पाउँदा लाग्ने शुल्कसमेत मञ्जिताको खाताबाट कट्टा भएको बैंकको अभिलेखमा देखिन्छ । अन्तिममा यो रकम पुनः कामना सेवा विकास बैंकको एटीएम प्रयोग गरेर निकालिएको अवस्थाको जानकारी आएको र खोजी जारी रहेको प्रभु बैंकका शाखा प्रबन्धक न्यौपानेले बताए ।

मोबाइल बैंकिङ सेवाको सबै जानकारी जस्तै पासवर्ड, ओटिबी र पिन नम्बर ग्राहक आफैंसँग सुरक्षित रहने भएकाले ‘फेस टु फेस’ कारोबारबाहेक बैंकले अरू जिम्मेवारी लिन नसक्ने न्यौपानेको भनाइ छ । ‘अहिले बैंकिङ प्रोसेसमा ह्याकिङ पद्धतिका घटना पनि हुने गरेका छन्,’ न्यौपानेले भने, ‘हामी घटनाको वास्तविकताबारे बुझिरहेका छौँ ।’  उनले ह्याक भए/नभएकोबारे अनुसन्धान जारी रहेको जानकारी दिए । ग्राहकको अनुरोधमा प्राप्त भएका सबै विवरण जिल्ला प्रहरी कार्यालयलाई दिइसकेको न्यौपानेले बताए ।