close

जुम्लामा गत वर्षको सडक प्रगति : ३५ किलोमिटर ग्राभेल, १८ किलोमिटर कालोपत्रे

जुम्लामा गत वर्षको सडक प्रगति : ३५ किलोमिटर ग्राभेल, १८ किलोमिटर कालोपत्रे

Trulli
ADVERTISEMENT

जुम्ला– गत आर्थिक वर्षसम्म सडक डिभिजन जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । सडक डिभिजन जुम्लाले मुगु, कालीकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । नाग्म–गमगढी सडकको जुम्ला खण्डमा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको हो । १८ किलोमिटर कालोपत्रे गरिएको छ । १८ किमि कालोपत्रेमध्ये ३ किमि जुम्ला क्षेत्रमा र बाँकी १५ किमि सडक कालोपत्रे कालीकोटमा भएको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । 

 

उनका अनुसार गत आर्थिक वर्ष करिब ३५ दशमलव २५ किलोमिटर सडक चौडा बनाइएको छ । सडक चौडाको काम जुम्लामा मात्रै भएको छ भने जुम्ला, कालीकोट, मुगुमा ३ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको र २ दशमलव २ किलोमिटर सडक सर्फेस डे«सिङ गरिएको प्रमुख भण्डारीले जानकारी दिए ।

 

गत आर्थिक वर्ष ०७७/७८ मा सडक डिभिजन जुम्लामा थप बजेटसहित विनियोजित कुल १ अर्ब १९ करोडमध्ये कोरोना कहरका बीच ७७ करोड रुपैयाँ खर्च भएको छ । यसको वित्तीय प्रगति ६४ दशमलव ८८ प्रतिशत हो । साथै, घट्टेखोला पक्की पुल दैलेख र कर्णाली नदी लालु–खुलालु पक्की निर्माण सम्पन्न भएका छन् भने गत वर्ष तिला नदीमाथिको पुल रारालिही जुम्लाको ठेक्का आह्वान भएको र उक्त पुल निर्माण चालू आवमा सम्पन्न हुनेछ ।

 

सडक डिभिजन जुम्लाले गत वर्ष गरेको पूर्वाधार विकासका काममध्ये अधिकांश जुम्लामा परेको छ । नाग्म–गमगढी सडक ग्राभेल, कर्णाली राजमार्गको जुम्ला खण्ड कालोपत्रे, नयाँ ट्रयाक खोल्नेलगायत काम जुम्लामा भएका छन् ।

 

४२ करोड बजेट फ्रिज


गत आर्थिक वर्ष २०७७/७८ मा सडक डिभिजन जुम्लामा थप बजेटसहित कुल १ अर्ब १८ करोड रुपैयाँ विनियोजन भएकामा ७७ करोड मात्रै खर्च भएको छ भने ४२ करोड बजेट खर्च हुन नसकेर फिर्ता गएको छ ।

 

गत वर्ष सडक निर्माण, नयाँ सडक निर्माण, स्तरवृद्धि, कालोपत्रेलगायत काम गरी भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ दशमलव ८८ प्रतिशत भएको सडक डिभिजन जुम्लाका प्रमुख भण्डारीले जानकारी दिए । ‘जुम्लामा सडक पूर्वाधार विकासको बजेट खर्च हुन नसक्नुका मुख्य तीन कारण छन्’, उनले भने, ‘बजेट खर्च नहुने पहिलो कारण कोभिड, दोस्रो निर्माण व्यवसायी कामप्रति जिम्मेवार नहुनु र बजेट निकासा वर्षको अन्त्यमा हुनु हो । यसले बजेट खर्च लक्ष्यअनुसार हुन सक्दैन ।’ 

 

निर्माण व्यवसायीको ढिलासुस्तीले बजेट खर्च भएन

 

जुम्लाका निर्माण व्यवसायीले समयमै काम सुरु नगर्ने, कामप्रति जिम्मेवार नहुने कारणले बजेट खर्च हरेक वर्ष न्यून छ । गत आवमा ठेक्का आह्वान ढिला, निर्माण व्यवसायीको ढिलासुस्ती र कोरोना कहरले लक्ष्यअनुसार बजेट खर्च तथा विकास निर्माण नभएकाले चालू आवमा भदौ मसान्तबाटै सबै काम सुरु हुने गरी अगाडि बढेको सडक डिभिजन जुम्लाका प्रमुख भण्डारीको भनाइ छ ।