close

प्रभावकारी भएन प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रभावकारी भएन प्रधानमन्त्री रोजगार कार्यक्रम

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङ नगरपालिकामा प्रधानमन्त्री रोजगार प्रभावकारी हुन सकेको छैन । विगतका वर्षमा नगरपालिकामा पदमार्ग निर्माण केन्द्रित भएको सो कार्यक्रम आर्थिक वर्ष २०७७/७८ मा कार्यान्वयन हुन नसकेको हो । 

 

नयाँ कार्यविधिअनुसार सङ्घीय सरकारबाट आएको सबै रकम ज्यालामा मात्रै खर्च गर्नुपर्ने प्रावधान रहेकामा  नगरपालिकाले साझेदारीमा बजेट नहाल्दा कार्यक्रम प्रभावित बनेको हो । 

 

स्थानीय पालिकाले केही बजेटमा साझेदारी गर्दा जिल्लाको काठेखोला र  बरेङ गाउँपालिका र ढोरपाटन नगरपालिका लगायतका स्थानीय तहमा प्रभावकारी बन्दै गएको जनाइएको छ ।  नगरपालिकामा गत आवमा रोजगारी प्रदान गर्नका लागि विनियोजित १ करोड ५२ लाख बजेटमध्ये जम्मा १४ लाख मात्रै बजेट खर्च भएर अन्य बजेट ‘फ्रिज’ भएको बागलुङ नगरपालिका रोजगार संयोजक सविता शर्माले जानकारी दिए । 

 

‘नयाँ कार्यविधिमा धेरै कुरा फरक छ, पहिला ७० ज्याला, २५ निर्माण सामग्री र पाँच प्रतिशत बजेट औजार खरिद गर्ने खालको थियो, अहिले सबै पैसा ज्यालामै खर्च गर्नुपर्ने हुन्छ, त्यसलै गर्दा निर्माण सामग्री र औजार अभावमा कार्यान्वयन हुन नसकेको हो, गत आर्थिक वर्षमा नगरपालिको समन्वय नगर्दा बजेट खर्च हुन सकेको छैन,’ उनले भने, ‘पालिकाले साझेदारीमा केही बजेट विनियोजन गरेका स्थानमा सफल भएको छ, आगामी दिनमा नगरपालिकाले निर्माण सामग्री र औजार खरिदमा ध्यान दिनुपर्नेछ ।’

 

कार्यविधिको समस्याले गत वर्ष बजेट कार्यान्वयन समस्या भए पनि यसपटक पालिकाले साझेदारी गरेर रोजगार कार्यक्रम सफल बनाइने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘कार्यविधि नै समस्या छ, नगरपालिकाभित्र चलनचल्तीको ज्याला १ हजार छ, कार्यविधिमा ५१७  ज्याला छ, त्यसमा काम गर्न कोही मान्दैनन्, त्यसैमा घनमिटरमा मूल्याङ्कन हुन्छ,’ उाले भने, ‘नगर क्षेत्रमा श्रमिकको समेत अभाव छ, एउटा वडाको कामदार अर्को वडामा लैजान नमिल्ने, बजार क्षेत्रमा श्रमिक पाउनै मुस्किल छ, यो आर्थिक वर्ष नगरपालिकाले केही रकम छुट्याइनेछ ।’ बागलुङ – ५ मा केही काम गरे पनि प्राविधिकले मूल्याङ्कन गर्दा दैनिक ज्याला ३७५ मात्रै रहेको रोजगार संयोजक शर्माको भनाइ छ । नगरपालिकाले १४ वडामा  पदमार्ग, मोटरबाटो मर्मत, कच्ची नाली निर्माण जस्ता सात योजना स्वीकृत गरेको थियो । बागलुङ –५ मा आठ लाख खर्च भएको थियो । 

 

अहिले कार्यक्रमका लागि नगरपालिकामा १ करोड ४२ लाख बजेट आएको छ । नगरपालिकामा जम्मा २७० बेरोजगारको सूचीमा सूचीकृत छन् । सूचीकृतमा नाम भएकाले मात्रै रोजगारी पाउने भएकाले सूचीकृत नाम भएका विदेश जाने र नयाँ बेरोजगार स्वदेश आएकाले रोजगारी दिनै समस्या भएको छ । वडास्तरीय योजनामा साझेदारी गर्दा रोजगार कार्यक्रम प्रभावकारी भएको काठेखोलाका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए । 

 

पालिकाले सामान्य औजार, प्राविधिक, सिमेन्ट, बालुवा, ढुङ्गाबाट, व्यवस्थापन गर्ने गरी पालिकाले समन्वय गर्दा मात्रै रोजगार कार्यक्रम सफल हुने देखिएको छ । एक करोड बजेटमा सबै काम भएको काठेखोलाले हालसम्म २७५ लाई ८० दिनसम्मको रोजगारी दिइसकेको रोजगार संयोजक जनक पौडेलले बताए  । काठेखोलामा १ हजार ६९४ बेरोजगारका सूचीमा छन् ।