close

सुर्खेतका स्वास्थ्य संस्थामा औषधि अभाव

सुर्खेतका स्वास्थ्य संस्थामा औषधि अभाव

Trulli
ADVERTISEMENT

वीरेन्द्रनगर– सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ । 

 

छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् ।     सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिन चक्कीको अभाव रहेको बताए । ‘पाँच/६ महिनादेखि स्वास्थ्यचौकीमा जिन चक्कीको अभाव छ,’ उनले भने, ‘अन्य औषधिसमेत अभाव भएको छ ।’  

 

स्वास्थ्यचौकीमा आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ । यस्तै भेरीगङ्गास्थित छिन्चु स्वास्थ्यचौकीमा समेत जिन चक्की अभाव भएको बरिष्ठ स्वास्थ्य सहायक गोकर्ण बुढाले जानकारी दिए । एक वर्षदेखि जिन चक्कीको अभाव रहेको उनले बताए । जिन चक्कीको अभाव भएपछि बिरामी मर्कामा परेका छन् । 

 

स्वास्थ्यचौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधिमध्ये आधाजसो मात्र स्वास्थ्यचौकीमा उपलब्ध हुने गरेको उनले बताए । त्यसैगरी स्वास्थ्यचौकीमा ग्याष्टिक, छाला, कानको समस्या भएका बिरामीलाई उपलब्ध गराइने औषधिसमेत अभाव भएको रहेको बुढाले बताए । रामघाट र छिन्चुमा मात्र होइन जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । छिन्चु स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक बुढाले अभाव हुँदा कतिपय औषधि स्वास्थ्य संस्था आफैँले खरिद गर्ने गरेका छन् । 

 

यस्तै भरीगङ्गा स्वास्थ्य शाखाले सङ्घबाट खरिद भएर आउने औषधि समयमा नआउँदा औषधिको अभाव भएको जनाएको छ । अति आवश्यक औषधि स्वास्थ्यचौकीमा अभाव नभएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अर्जुन चपाईले बताए । ‘केन्द्रले खरिद गरेर पठाउने नौ प्रकारको औषधि अभाव भएको छ,’ उनले भने, ‘जिन चक्कीका साथै परिवार नियोजनका साधनको समेत अभाव छ ।’ जनस्वास्थ्य कार्यालयलाई औषधि अभावको विषयमा पटक पटक जानकारी गराइएको उनले बताए ।  

 

यसैबीच केही दिनअघि  सुन्दर नेपाल संस्थाको पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत गठन गरिएको निगरानी समूहले स्वास्थ्यचौकीको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्यचौकीहरुमा अत्यावश्यक औषधिको अभाव रहेको पाइएको परियोजनाका कार्यक्रम संयोजक याम थापाले जानकारी दिए ।