close

शिक्षा क्षेत्र उकास्न तिलोत्तमा नगरप्रमुख घिमिरेले सुम्पिए तलब–भत्ता

सामुदायिक विद्यालयका ४२ विद्यार्थीले पाए छात्रवृत्ति

शिक्षा क्षेत्र उकास्न तिलोत्तमा नगरप्रमुख घिमिरेले सुम्पिए तलब–भत्ता

सामुदायिक विद्यालयका ४२ विद्यार्थीले पाए छात्रवृत्ति

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले आफ्नो सेवा–सुविधाबापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ४ वर्षदेखि निरन्तर छात्रवृत्ति दिँदै आएका नगरप्रमुख घिमिरेले यसअघि नै घोषणा गरेअनुसार चालू शैक्षिक सत्रका लागि ४२ सामुदायिक विद्यालयका ४२ जना विद्यार्थीलाई जनही ७ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेका हुन् ।

 

नगरप्रमुख घिमिरेले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका एक/एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । सोहीअनुसार बुधबार सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेनदार विद्यार्थीलाई जनही ७ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो । नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनोट तथा व्यवस्थापन समिति गठनसँगै कोषसमेत सञ्चालन गरेको छ ।

 

नगरपालिकाको शिक्षा समितिको व्यवस्थापन जिम्मा दिँदै सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा गरिब, जेहेनदार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।  छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए । छात्रवृत्ति वितरण कार्यक्रममा नगरप्रमुख घिमिरेले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई प्रोत्साहन गर्न आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका एक/एक जना जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिए ।

 

सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारका कामलाई जोड दिँदै उनले पुरानो अवस्था हेर्दा अहिले निकै परिवर्तन भएको दाबी गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरदेवी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  प्रमुख प्रसासकिय अधिकृत प्रदीप पौडेलले गरिब, निमुखा विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा लैजान नगरप्रमुखको यो काम सराहनीय भएको औँल्याए ।