close

‘बुकी’ले चिनाउनेछ अब बागलुङलाई

‘बुकी’ले चिनाउनेछ अब बागलुङलाई

Trulli
ADVERTISEMENT

बागलुङ– जिल्लाका पर्यटकीय क्षेत्रको चिनारीका लागि चलचित्र निर्माण हुने भएको छ । बागलुङका पर्यटकीय गन्तव्य, धार्मिक स्थल, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटर पहिलो पटक ठूलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको हो ।

हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रालिले चलचित्र निर्माण गर्न लागेको हो । ‘बागलुङलाई विश्वभर चिनाउने गरी हामीले ऐतिहासिक चलचित्र बुकी निर्माणको अभियान थालेका छौँ’, निर्माण संयोजक राजन केसी मोहनले भने, ‘जिल्लालाई पर्यटकीय गन्तव्य बनाउन हामी सफल हुनेमा विश्वस्त छौँ ।’

पर्यटकीय, धार्मिक तथा सांस्कृतिक सम्पदा चलचित्रमा समावेश गरिनेछ । ‘चलचित्रको कथावस्तुबारे काम सकिएको छ । सामाजिक अभियानमार्फत यो काम गर्न लागेकाले अहिले आर्थिक अभियानको काम चालेको छ’, उनले भने ।

स्थानीय तह, संघसंस्था, प्रवासी तथा स्थानीय नागरिकसँगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण हुने अभियानका सचिव थम्मन थापा सन्देशले जानकारी दिए । पोखरामा आउने पर्यटकलाई बागलुङ भित्र्याउन चलचित्रले भूमिका खेल्ने थापाको दाबी छ ।

दुई वर्षदेखि अभियान सुरु गरेको र कथावस्तुको काम सकेर आर्थिक संकलन अभियानमा लागेको उनको भनाइ छ । ‘कोरोना महामारीले हाम्रो अभियान प्रभावित बन्यो तर उत्साहजनक रूपमा हामीलाई बागलुङवासीको साथ र सहयोग मिलेको छ’, उनले भने । चलचित्र निर्माणका लागि आर्थिक संकलन गर्न जिल्लाका सबै स्थानीय तहमा सांगीतिक कार्यक्रम गरिने उनले जानकारी दिए ।

कोरोना महामारीका कारण गत चैतदेखि सांगीतिक कार्यक्रम गर्ने भने पनि संभव नभएको संयोजक केसीको भनाइ छ । सामाजिक अभियानमार्फत निर्माण हुने चलचित्र ‘बुकी’को नामकरण ढोरपाटन सिकार आरक्षमा रहेको बुकी फूलको नामबाट गरिएको छ ।

चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार हुने निर्माण युनिटले जनाएको छ । चलचित्र निर्माणका लागि एक करोड ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । चलचित्रबाट हुने आम्दानी पनि पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार र प्रचारप्रसारमा खर्च गरिने बताइएको छ ।