close

धानका बालामा झेल, किसानलाई अनिकालको चिन्ता

धानका बालामा झेल, किसानलाई अनिकालको चिन्ता

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको पश्चिमका ठूला फाँटमा एकाएक धान मर्न थालेपछि किसानमा पिरोलो सुरु भएको  छ । जिल्लाको छल्दी पनाहा र निस्तीका विभिन्न फाँटका धानमा गुबो कुहिने, बालामा पोकटे लाग्नेलगायत समस्या देखा परेको छ ।


हुलाके, घम्मु, चौरासी, फेदीफाँट फूलबारी तथा खज्र्याङलगायत ठूला फाँटमा लगाइएको २० प्रतिशत धानमा यो रोगको प्रकोप फैलिएको हो ।


भदौ अन्तिम साताबाट रोग देखापरे पनि आफूहरूले स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराउँदा कुनै सुनुवाइ नभएको धुर्कोट गाउँपालिका– ५ का सुरेन्द्र पाण्डेयले गुनासो गरे ।


उनले २१ रोपनीमा धान रोपेका छन् । अहिले ३०/४० प्रतिशत धान खेतीमा पोकटे र गुबो कुहिने समस्या देखिएको उनले बताए । पाण्डेयले गत वर्ष हुलाके नयाँपोखरा सडकको कारण कुलो पुरिएर खेत बाँझै भएको र अहिले रोगले धान खेती नष्ट भएको गुनासो गरे ।


धनार्जी फाँटमा इस्मा गाउँपालिका– ६ का जीतबहादुर कुमालले २० मुरी धान फल्ने खेत रोपेका छन् । उनले अरुको अदिँया गरेका छन् । त्यसैमा आधा धानमा पोकटो बस्यो । अब खाने के भन्ने पिरलो उनमा थपिएको छ । । समयमै मल प्रयोग गर्न किसानले पाएका छैनन् ।


‘स्थानीय सरकार यो विषयमा अनविज्ञ रहेको छ । कुनै औषधी र मलको सहज ववस्थापन नहुँदा कृषक निराश छन् । अत्यधिक वर्षाको कारण मकै पनि कम फल्यो । धानमा पनि रोगले सताएपछि भोकमरीको संकेत देखिएको छ’, सोही स्थानका भीमलाल पाण्डेय भन्छन् ।


अत्यधिक वर्षाले बगाएका सिँचाइ कुलो मर्मत सम्भारमा पनि तीनै तहका सरकारले चासो नदिएपछि किसान हैरानीमा छन् ।


कृषि ज्ञान केन्द्र गुल्मीका निमित्त प्रमुख सनबहादुर राना धानमा गबारोको समस्या देखिएको बताउँछन् । धान मर्ने र पोकटे हुने गबारोकै कारण भएकाले अब नियन्त्रणको प्रयास सुरु गरिएको उनले दाबी गरे ।


जरामा लियान्पोट नामक ब्याक्टेरिया र धानको गुबामा बोरर नामक किराले आक्रमण गरेका कारण धान खेतीमा समस्या देखिएको उनको बुझाइ छ ।


ब्याक्टेरियाका निम्ति ‘एग्रिमाइसिन’ र बोरर किराका लागि ‘कार्बोसिउरान’ नामक विषादी केन्द्रले सिफारिस गरेकाले भर्खर सुरु भएको ठाउँमा प्रयोग गर्न सकिने रानाले जानकारी दिए । ‘पछिल्लो समय किसानको धानमा गबारोले सताएको गुनासा आएका छन् । कार्यालयसँग तत्काल कुनै उपाय छैन,’ उनले भने, ‘संक्रमण देखिएको समय विषादी प्रयोग नगरे नियन्त्रणबाहिर जान सक्छ ।’


कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा १० हजार ४ सय ४० हेक्टरमा धान खेती हुने गरेको छ । यसमध्ये ९ सय ८२ हेक्टरमा चैते र ९ हजार ४ सय ८५ हेक्टरमा बर्खे धान रोप्ने गरिएको छ । गुल्मीमा विशेषगरी चन्दिना, सीएच ४ सय ५९, खुमल ४, खुमल ६, मकवानपुर १, हाइब्रिड युएस् ३ सय १२, उपज, क्रान्तिलगायतका उन्नत जातका धान लगाइने कार्यालयले जनाएको छ ।


जिल्लामा हशंराज, आँपझेत्ते, मार्सी, काठेजिनुवा, जडन, जेठो बुढोलगायतका स्थानीय जातका धान पनि लगाइने गरिएको छ । जिल्लामा आव ०७५/७६ मा २७ हजार ९ सय ८९ तथा ०७६/७७ मा २८ हजार ७ सय २३.७५ मेक्ट्रिक टन धान उत्पादन भएको छ ।