close

मिक्लाजुङमा आलोपालो विद्यालय सञ्चालन

मिक्लाजुङमा आलोपालो विद्यालय सञ्चालन

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचथरको दक्षिणी मिक्लाजुङ गाउँपालिकाले आलोपालो कक्षा सञ्चालन गरेको छ । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय सञ्चालनका लागि गाउँपालिका शिक्षा समितिले आलोपालो विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।


जोर अंकमा पर्ने कक्षा तीन दिन र बिजोर अंकमा पर्ने कक्षा अर्को तीन दिन सञ्चालनमा ल्याइएको छ । यहाँका माध्यमिक तथा आधारभूत तहमा कक्षा सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख तीर्थराज मिश्रले जानकारी दिए ।


गाउँपालिका प्रमुख अमरराज माखिमको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिका कोरोना संक्रमित नरहेकाले सिकाइ कक्षाको हिसाबले विद्यालय सञ्चालनमा ल्याइएको अध्यक्ष माखिमले बताए ।


‘आठवटै वडाका विद्यालय सञ्चालनमा आएका छन् । गाउँपालिकाले दसैंको बिदासमेत छोट्याएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । छ महिनापछि विद्यार्थीरू विद्यालय आएका छन् । आवश्यक सचेतना अपनाएर विद्यालय सञ्चालनमा ल्याएका हौँ’, गाउँपालिका अध्यक्ष माखिमले भने ।

 

२१ असोजदेखि गाउँपालिकाले निर्णय गरेर कक्षा ११ को परीक्षा सञ्चालन भएको छ । यहाँका पाँचवटा विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ । गाउँपालिका केन्द्रमा रहेको दुर्गा माध्यमिक विद्यालयमा चारवटा संकायमा कक्षा सञ्चालन हुन्छ । 


स्वास्थ्य सचेतना अपनाएर परीक्षा तथा कक्षा सञ्चालन भइरहेको दुर्गा मावि रविका प्रध्यानाध्यापक कर्णबहादुर लिम्बूले जानकारी दिए । उनका अनुसार मास्क, सामाजिक दूरी अनिवार्य गरेर परीक्षा सञ्चालन गरिएको छ ।


‘शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ,’ प्रधानाध्यापक लिम्बूले भने ।