close

जिसस दाङको पाँचौँ जिल्लासभा : २५ बुँदे प्रस्ताव पारित

जिसस दाङको पाँचौँ जिल्लासभा : २५ बुँदे प्रस्ताव पारित

Trulli
ADVERTISEMENT

दाङ– जिल्ला समन्वय समिति दाङको पाँचौँ जिल्लासभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको छ ।जिल्लासभामा समन्वय समिति प्रमुख जीतेन्द्रमान नेपालीले चालू आर्थिक वर्ष २०७८/७९ का लागि पेस गरेको २५ बुँदे नीति तथा कार्यक्रममाथि छलफल गरी केही बुँदालाई सामान्य परिमार्जन गर्दै पारित गरिएको हो ।

 

जिल्लासभाबाट पारित भएको नीति तथा कार्यक्रममा ‘सम्पन्न जनता, समृद्ध दाङ’ को दूरदृष्टिलाई साकार पार्न पालिकाहरूलाई सामथ्र्य र पहिचान निर्धारणसँगै प्राथमिकीकरण गरी त्यसका आधारमा योजना निर्माण तथा कार्यान्वयन गरी समृद्धि हासिल गर्न सहकार्य गरिने, जिल्लामा पानी अभावका कारण कृषिलाई आधुनिकीकरण गर्न असहज भएको सन्दर्भमा सबै तहका सरकारसँग समन्वय गरेर दाङको उत्तर क्षेत्रबाट बग्ने खोला, नाला खहरेमा हाइ ड्याम तयार गरी विशाल नहर निर्माण गरेर सिँचाइ र खानेपानीको सुविधा विस्तारसँगै जलाशय निर्माणलाई अभिप्रेरित गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने प्रस्ताव पारित भएको छ ।

 

यस्तै, सडक यातायातलाई छोटो दूरी, कम जोखिम र पर्यावरणीय सन्तुलनलाई कायम राख्न दाङ उपत्यका र देउखुरी उपत्यकालाई जोड्न सुरुङ मार्ग निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने, नाकाबासीको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, यातायात, रोजगारीलगायतमा उक्त क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरिने भएको छ ।

 

जिल्लालाई हवाई मार्गको माध्यमबाट विकास गर्न नारायणपुर क्षेत्रमा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन र तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिनेछ ।

 

यस्तै, सिमेन्ट उद्योगको बढ्दो चापबाट सिर्जित वातावरण प्रदूषण तथा मदन भण्डारी मार्गको बिग्रँदो अवस्थालाई सुधार गर्न वैकल्पिक सडक मार्ग निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरिने, नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन, ओसारपसार, घाटगद्दीको प्रक्रियालाई प्रदेश र पालिकासँगको समन्वयमा वैज्ञानिक र पारदर्शी ढंगले अगाडि बढाउन समन्वय गरिनेलगायत २५ बुँदा रहेका छन् । 

 

समन्वय समिति प्रमुख नेपालीको अध्यक्षतामा बसेको जिल्लासभामा जिल्लास्थित सबै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजलगायतको उपस्थिति थियो । 

 

पालिकाका प्रमुुख जिल्लासभाका सदस्य रहने प्रावधानअनुसार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई सफल बनाउन तथा जिल्लाको समग्र विकासमा टेवा पुग्ने गरी एकताबद्ध भई अघि बढ्ने संकल्प गरिएको समन्वय समितिले जनाएको छ ।

 

सो अवसरमा जिसस उपप्रमुख श्रीधर शर्मा पौडेलले आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा वक्ताहरूले दिगो विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिन सुझाएका थिए । 

 

अनुगमनमा विज्ञता नहुँदा समन्वय समितिलाई समस्या पर्ने गरेको र विगतको अनुभवलाई आत्मसात् गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गरियो ।

 

जिल्लाको विकास र समृद्धिका लागि समन्वय समितिको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै वक्ताहरूले विकासको प्रमुख आधार स्वास्थ्य, शिक्षा रहेकामा जोड दिए ।