close

पालिका खबर : स्थानीय सरकार र जनप्रतिनिधिका अप्ठेरा फुकाउने थलो

पालिका खबर : स्थानीय सरकार र जनप्रतिनिधिका अप्ठेरा फुकाउने थलो

Trulli
ADVERTISEMENT

पालिकाखबर सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । यो अवधिमा पालिका खबरले गरेका काम र थप सुधार गर्नुपर्ने विषयबारे ७ वटै प्रदेशका स्थानीय सरकारका जनप्रतिनिधिसँग गरिएको कुराकानी :


भीमकुमारी राउत
उपप्रमुख, कटारी नगरपालिका, उदयपुर

 

पालिका खबरले स्थानीय सरकारका धेरै विषयलाई खबरमा समेटेको छ । देशभरकै पालिकाका काम आदान-प्रदान हुन पाएको छ । समग्रमा पालिका खबरको काम राम्रो भएको मान्छु । सबै स्थानीय तहलाई भने अझै राम्रोसँग समेट्न सकेको छैन । हाम्रो नगरको पनि खबर कम समेटिएको अनुभव गरेकी छु । पालिका खबरले आउँदा दिनमा सबै पालिका समेटोस् भन्ने चाहन्छु । 

 

विदुरकुमार कार्की
नगरप्रमुख, बर्दिवास नगरपालिका, महोत्तरी

 

ठूला–ठूला मिडियाले स्थानीय तहको खबर समेट्न नसकिरहेका बेला पालिका खबरले स्थानीय सरकारको समाचारलाई प्राथमिकतामा राखेको छ । स्थानीय सरकारका अधिकारका कुरालाई सूचीत गराएर यसले संघीयताको कार्यान्वयनमा पनि राम्रो भूमिका खेलेको छ । स्थानीय तहमा भ्रष्टाचार बढ्यो भनेर विरोध गरिरहँदा पालिका खबरले सूक्ष्म अध्ययन गरेर सत्य उजागर गर्न महत्त्वपूर्ण भू्मिका खेलेको छ । पालिकामा भएका कर्मचारी अभावलगायत समस्यालाई पनि यसले उठाइदिएको छ । समग्रमा पालिका खबरले गरेको काम एकदमै सराहनीय छ । 

 

भीम न्यौपाने
नगरप्रमुख, पनौती नगरपालिका, काभ्रे

 

पालिका खबरले ७७ जिल्लाकै पालिकाका सकारात्मक विषयलाई उठाइरहेको छ । स्थानीय सरकार नागरिक नजिक भएकाले यसका कामलाई अगाडि ल्याइदिएर सुसूचित गराएको छ । पालिका खबरका आफ्नै जटिलता होलान् । त्यसका बाबजुद यसले गरेको काम महत्त्वपूर्ण लाग्छ । यसले सबै जिल्लाका स्थानीय तहमा खटिएका संवाददातालाई थप क्रियाशील बनाउन सके अझै सफलता पाउने देखिन्छ । 

 

भूपराज अधिकारी
नगरप्रमुख, गल्याङ नगरपालिका, स्याङ्जा

 

पालिका खबरले स्थानीयका सरोकारका विषय उठाएर मिडिया क्षेत्रमा एकदमै राम्रो छवि बनाउन सकेको छ । स्थानीय तहको खबर समेट्नमा यसको योगदान महत्त्वपूर्ण रहेको ठानेको छु । आउने दिनमा अझै राम्रो गर्न सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिन चाहन्छु । 

 

विपिन ओझा
नगरप्रमुख, अमरगढी नगरपालिका, डडेलधुरा 

 

पालिका खबरले एकवर्षे यात्रा पार गरेकामा शुभकामना । पालिका खबरले देशैभरका स्थानीयलाई समेटेर समाचार प्रसारण गरिरहेको छ । स्थानीय तहले गरेका प्रयास देशैभर पुर्‍याउन  यसको महत्त्वपूर्ण भूमिका छ । यसलाई आउने दिनमा खोजमूलक र अनुसन्धानमूलक बनाउँदै लैजानुपर्छ ।

 

दुर्गाकुमार थापा
नगरप्रमुख, बेलका नगरपालिका, उदयपुर

 

पालिका खबरले १ वर्ष पूरा गरेकामा बधाइ छ । स्थानीय तहमा सञ्चालन गरिने विभिन्न विकास निर्माणदेखि सरोकारका विषयलाई समेट्ने राम्रो माध्यम बनेको छ, पालिका खबर । पालिकालाई सरकारको रूपमा अस्तित्व स्वीकार गराउन यो सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेलेको ठानेको छु । पालिकाले के कारणले काम गर्न सकेनन् भनेर जनप्रतिनिधिका जिज्ञासालाई सम्बन्धित ठाउँसम्म पुर्‍याउने   र त्यसको उत्तर खोज्ने प्रयत्न पालिका खबरले गरोस् भन्ने चाहना छ । 

 

चित्रबहादुर कार्की
नगरप्रमुख, सैनामैना नगरपालिका, रूपन्देही


पालिका खबरले स्थानीय तहमा भएका विकास निर्माणका कामलाई देशैभर पु¥याएको छ । पालिका खबरले एक वर्षमै स्थानीय तहमा भएका सकारात्मक र नकारात्मक विषय विवेचना गरेर समाचार प्रकाशन गरेको छ । यसले संघीयताको कार्यान्वयनमा पनि राम्रो भूमिका खेलेको छ । समग्रमा पालिका खबरले गरेको काम उदाहरणीय छ । यसले बढीभन्दा बढी स्थानीय तहको विश्लेषणात्मक समाचारमा अझै जोड दिँदा राम्रो हुन्छ । 

 

चन्द्रप्रकाश घर्ती
नगरप्रमुख, भेरी नगरपालिका, जाजरकोट

 

पालिका खबरले समेटेका समाचार मैले नियमितजसो हेर्ने गरेको छु । यसले जनप्रतिनिधिसँग संवादको कार्यक्रम पनि राखेको छ । पालिकाका काम र जनप्रतिनिधिका अप्ठेरा राख्ने राम्रो प्लेटफर्म बनेको छ, पालिका खबर । संघीयता कार्यान्वयनमा भएका जटिलता र वित्तीय हस्तान्तरणका विषयमा पालिका खबरले थप रिपोर्टिङ गरोस् भन्ने मेरो सुझाव छ ।


 
लीलाकुमारी माेक्तान
उपप्रमुख, बागमती नगरपालिका, सर्लाही 


पालिका खबरले स्थानीयका समाचार पस्किएर एकदमै राम्रो काम गरिरहेको छ । पालिकामा भएका कामका अनुभव आदान-प्रदान गर्ने माध्यम बनेको छ । समग्रमा भन्दा सबै स्थानीय तहलाई जोडेर खबर प्रसारण गरेकाले पालिका खबरले सफलता पाएको हो भन्ठान्छु । आउँदा दिनमा अझै राम्रो गर्न सकोस्, शुभकामना ।

 

सुशीला अधिकारी
नागार्जुन नगरपालिका, काठमाडौं


समग्रमा पालिका खबरले अहिलेसम्म गरेको काम राम्रो देखिन्छ । यसले स्थानीय तह विशेषको खबरलाई प्रकाशन गर्दै आएको छ । तर, सबै क्षेत्रलाई समेट्न भने सकेको देखिन्न । नागार्जुन उपत्यकाभित्रै भए पनि हाम्रो नगरको समाचार नसमेटिएको अनुभव भएको छ । आउने दिनमा सबैलाई समेट्न सकोस् भन्ने सुझाव दिन चाहन्छु । 

 

मञ्जु अधिकारी प्यासी
उपप्रमुख, फलेवास नगरपालिका, पर्वत

 

पालिका खबरले समेटेका खबर पठनीय छन् । पालिका खबरले उप-प्रमुखहरूलाई पनि प्रोत्साहित गरेर कार्यक्रम बनाएको पाएकी छु । यसले हाम्रो मनोबल उच्च बनाएको छ । स्थानीय सरकार सञ्चालनले दिएका अधिकार प्रयोगबारे पनि रिपोर्टिङ गरोस् भन्ने शुभकामना । 

 

मोहनमाया भण्डारी (ढकाल)
उपप्रमुख, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत


पालिका खबरले स्थानीय तहलाई केन्द्रमा राखेर रिपोर्टिङ गर्दै आएको छ । पालिका खबरबाट प्रकाशित समाचारले हामीलाई अन्य पालिकाको अनुभव लिन पनि मद्दत पुगेको छ । नामअनुसारको काम गर्न सफल भएजस्तो लाग्छ । आउने दिनमा अझै पठनीय र विश्वसनीय समाचार प्रकाशन गरोस्, शुभकामना । 

 

सृष्टि रेग्मी
उपप्रमुख, बूढीनन्दा नगरपालिका, बाजुरा


हरेक स्थानीय तहमा प्रतिनिधि राखेर समाचार प्रकाशित हुँदै आएकाले पालिका खबर पठनीय छ । तीनै तहका सरकारको अस्तित्वलाई स्वीकार गर्न पालिकाले अझै सशक्त रिपोर्टिङ गरोस् । नीति नियम बनाउनेसँग अहिले कार्यान्वयन भइरहेको संघीयतामा भएका कमजोरी सोधियोस् । टिभी कार्यक्रमको समय अझै थपिए राम्रो हुने थियो । पालिका खबरलाई दोस्रो वर्ष प्रवेशको शुभकामना ।