close

डोजरले मनमौजी सडक कोतरिँदाको पिरलो : गाउँबस्ती नै बाढीपहिरोको जोखिममा

डोजरले मनमौजी सडक कोतरिँदाको पिरलो : गाउँबस्ती नै बाढीपहिरोको जोखिममा

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको जुम्ला विमानस्थल हुँदै पूर्वी भेग पातारासी गाउँपालिकामा अवस्थित उर्थुचौतारा सडक खण्डको चन्दननाथ नगरपालिका वडा नम्बर १ रानारावत गाउँका १२ घर जोखिममा परेका छन् । प्राविधिक अध्ययनबिनै खनिएका सडकले जोखिम निम्त्यिाएको स्थानीयको बुझाइ छ ।
यो एउटा उदाहरण मात्रै हो ।

 

जुम्लाका विभिन्न ठाउँमा वर्षा सुरु भएसँगै बाढीपहिरोले ठूलो धनजनको क्षति गरिरहेको छ । गाउँ–गाउँमा जताततै खनिएका सडकका कारण यतिबेला सर्वसाधारणले दुःख भोगिरहेका छन् । डोजरले सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको चन्दननाथ नगरपालिका वडा नम्बर १ का स्थानीय अमृतकृष्ण आचार्यले बताए । उनले भने, ‘यसै पनि हिमाली क्षेत्रमा भिरालो भूवनोट र त्यसमाथि जमिनै हलचल हुने गरी बिनाअध्ययन, योजना डोजर चलाउँदा यस्तो समस्या भएको हो ।’

 

रानारावत गाउँभन्दा माथि गाउँ नै छैनन् । तर, जुम्लाका केही राजनीतिक नेता, कार्यकर्ताको स्याउ बगैँचामा सडक लैजाने होडबाजीले निर्माण गरिएको छ । यसको परिणाम भिरालो जमिनमा डोजर तथा स्काभेटर चलाउँदाको असर मनसुन सक्रिय भएसँगै देखिएको छ ।  रानारावत गाउँबाट जंगलमा लगिएको सडकको नाममा गरिएको विकासले न भूगोलको अध्ययन भयो, न त प्राविधिक रूपमै नापजाँच भयो । जताबाट घुमाए पनि सडक घरकै आँगनमा पु¥याउनुपर्छ भन्ने मानसिकताका कारण थप जटिलता पैदा भएको हो ।

 

नहर र उपकर बिग्रेपछि बिजुली अवरुद्ध 

 

उर्थुचौतारा सडक खण्डको रानारावत गाउँको जमिन भासिएपछि ठिन्के जलविद्युत् आयोजनाको कुलो भत्किँदा चन्दननाथ नगरपालिका वडा नम्बर १ र ५ नम्बर वडासम्मको विद्युत् सेवा एक महिनादेखि अवरुद्ध भएको छ । 

 

ठिन्के जलविद्युत् आयोजनाका अध्यक्ष विष्णुबहादुर बुढ्थापाका अनुसार यो वर्ष वर्षा धेरै भपछि भिरालो र पानीका मुहान भएको जमिन सडक खन्दा ठाउँ–ठाउँमा चर्किएका छन् । सडक भासिँदा नागरिकले बिजुली बाल्न नपाएको उनको भनाइ छ ।  ‘उर्थुचौतारा सडक खण्डको रानारावत गाउँका १२ घरपरिवारले खानेपानी ट्यांकीमा बाढी पसेपछि पानी खान पाएका छैनन् । सोही ठाउँमा सडकको पानी पस्दा विद्युत् सेवा अवरुद्ध भएको हो’, उनले भने । 


जलविद्युत् समितिका अध्यक्ष्य बुढ्थापाले बत्तीको कुलो ३५ मिटरसम्म भत्किएकाले निर्माणमा लामो समय लाग्न सक्ने सुनाए । तर, बनाएर पनि दिगो नहुने उनको भनाइ छ । ‘लगातार पानी परेसँगै रानारावत गाउँ माथिबाट जमिन चर्किइसकेको छ । त्यो ठाउँमा पहिरो आए पावर हाउस नै भत्काउने सम्भावना छ’, उनले भने ।

 

सरकारले निर्माण गर्ने सडक ठेक्का प्रक्रियाबाट ठेकेदारमार्फत निर्माण हुने गर्छन् । तर, स्थानीय तहमा बन्ने सडक उपभोक्ता समितिमार्फत निर्माण हुने गरेका छन् । यहाँ इन्जिनियर हुँदैनन् भने गाउँका टाठाबाठा र डोजर अपरेटरको मनमर्जीमा खनिन्छन् ।  त्यस कारण स्थानीय नेता तथा कार्यकर्ताले इशारा गरेकै भरमा डोजर चलाइनु सबैभन्दा बाढीपहिरो र भूक्षयको जोखिम बढाउने कारण बनेको विज्ञहरू बताउँछन् ।

 

सडक सहज कि सकस ?


अब चाडपर्व नजिकिँदै छन् । यिनै चाडपर्वसँगै कहालीलाग्दा दुर्घटनाका खबर पनि आउने गर्छन् । सडक पुगेपछि सहज मान्दै हिँड्ने यात्रुका गन्तव्य हिजोआज अधुरा हुन थालेका छन् । 

 

बिहान घर छाडेको व्यक्ति भरे गएको ठाउँ पुग्छ कि पुग्दैन, अनिश्चित हुन थालेको छ । सडक दुर्घटनाका अत्यासलाग्दा शृंखलाले हाम्रो यात्रा कति जोखिमयुक्त र भयावह हुन पुगेको छ भन्ने अधुरा बन्दै गरेका गन्तव्यले प्रमाणित गरेका छन् । जुम्लामा नयाँ खनिँदै गरेका सडकमा बढी यात्रु लिएर रुट परमिटै कायम नभएका सडकमा निर्वाध गुड्ने सवारीले नागरिकको ज्यान जोखिममा पारिरहेको छ । 

 

यसअघि सडक दुर्घटना अत्यधिक हुने भएर कर्णाली राजमार्गलाई (सुर्खेत–जुम्ला) मृत्युमार्ग नामकरण गरिएको थियो । जुम्लामा पछिल्लो समय डोजर आतंकका कारण प्रायः ठाउँमा बाढीपहिरोको जोखिम बढी छ ।