close

काठेखोलामा अनुदानविनै पदमार्ग निर्माण

काठेखोलामा अनुदानविनै पदमार्ग निर्माण

Trulli
ADVERTISEMENT

बाग्लुङ- स्थानीय तहले सञ्चालन गर्ने विकासे योजनामा २० प्रतिशत श्रमदान अनिवार्य गरिएको छ भने केहीमा श्रमदानको फरक-फरक व्यवस्था पनि छ ।

 

योजना सम्झौतामा उपभोक्ता समितिले कानुनी व्यवस्थाअनुसार कामका लागि कागजात तयार गरे पनि विनियोजित रकम खर्चिएर र कागज मिलाएरै फरफारक हुने समस्या देखिएको छ ।

 

श्रमदानको संस्कृतिमा विश्वास कम हुन थालेको नयाँ संरचनासँगै स्थानीय तह गठन भएपछि हो । पहिलेका नगरपालिका तथा गाविसले सञ्चालन गर्ने योजनामा अहिलेभन्दा फरक हिसाबले उपभोक्ता श्रमदानमा सहभागी हुन्थे ।

 

श्रमदानमा विश्वास बढाउन स्थानीय तहले पहल भने नगरेका होइनन् । तर, उपभोक्ताको तत्कालीन आवश्यकतासँग जोडिएका योजनामा ध्यान नपुगेकै कारण श्रमदानप्रति सर्वसाधारणको जागरुकता नदेखिने गरेको काठेखोला गाउँपालिका- ७ रेशका अध्यक्ष प्रेम लामिछाने बताउँछन् ।

 

‘सामुदायिक वनमा उपभोक्ताको सक्रियता बाक्लो छ । सबैले अपनत्व लिन्छन् । चाहिएका बेला योगदान दिन्छन्’, लामिछाने भन्छन्, ‘उपयोगमा विश्वास हुँदा मात्रै सर्वसाधारणले श्रमदान गर्ने हुन् ।’

 

उपभोक्ताको दैनिकीसँग जोडिएका कार्यक्रम ल्याउँदा मात्रै उनीहरूलाई उत्साहित गर्न सकिने उनी सुझाउँछन् ।

 

कोरोना कहरका कारण भएको लकडाउनले धेरैलाई बेरोजगार बनाएको छ । स्थानीय सरकारले सञ्चालन गर्ने योजना र नयाँ अवसरमा युवा पुस्ताको चासो छ ।

 

गत वर्ष गण्डकी प्रदेश सरकारले दिएको ११ लाख रुपैयाँबाट ३०० मिटर पक्की पदमार्ग मात्रै बनाएका रेशका स्थानीयले यो वर्ष बिनाअनुदान श्रमदान पदमार्ग निर्माणमा जुटेका छन् ।

 

रेशमा रहेको माहुरीभीर झरना पुग्न पदमार्ग निर्माण गर्दा पर्यटनको सम्भावना उनीहरूले देखे । आफूहरूको आर्थिक उन्नति हुने देखेका उनीहरू श्रमदान गर्न कस्सिएका हुन् ।

 

लकडाउनका कारण अल्झिएको दैनिकीमा गाउँको पर्यटकीय स्थलको प्रचारप्रसार तथा पूर्वाधार निर्माणमा नागरिकले चासो दिएको स्थानीय हरि कुँवर बताउँछन् ।

 

श्रमदानमा पदमार्गको काम गरिरहेका गाउँले मिलेर १३ सदस्य रहेको ‘माहुरी झरना संरक्षण समिति’ गठन भएको छ । यही समितिले टोलअनुसारको श्रमदान गर्ने पालो लगाउँछ । गाउँलेहरू स्वतःस्फूर्त श्रमदानमा जोडिने गरेको वडाध्यक्ष लामिछाने सुनाउँछन् ।

 

गत वर्ष निर्माण भएको पदमार्गदेखि माहुरीभीर झरनाको फेदीमा पुग्न झन्डै २ किलोमिटर पदमार्ग आवश्यक छ । अक्करे भीरको बाटो रहेकाले सहज आउजाउका लागि पदमार्ग आवश्यक परेको हो ।

 

संरक्षण समितिले आर्थिक तथा भौतिक व्यवस्थापनमा सहयोग पुर्‍याउने भनेको छ । रेशको नयाँ पर्यटकीय गन्तव्य भएकाले यसको प्रचारप्रसारका लागि वडाको सहायतामा स्थानीय कस्सिएका छन् । 

 

११ दिन श्रमदान गर्ने गरी काम अगाडि बढेको छ । गाउँलेले १.५ मिटर चौडाइको पदमार्ग बनाएका छन् ।