close

प्रदेशकै पहिलो तौलपुल स्टेसन महोत्तरीमा

प्रदेशकै पहिलो तौलपुल स्टेसन महोत्तरीमा

Trulli
ADVERTISEMENT

महोत्तरी– प्रदेशकै पहिलो तौलपुल स्टेसन महोत्तरीको बर्दिबासमा औपचारिक रूपमा सञ्चालनमा आएको छ । बिपी राजमार्ग तथा महेन्द्र राजमार्गमा चल्ने सवारीसाधनको अधिकतम भारवहन क्षमतालाई नियमन गर्ने उद्देश्यले बागमती प्रदेशपछि प्रदेश २ को महोत्तरीमा पहिलोपल्ट तौलपुल स्टेसन स्थापना भएको हो ।

 

विशेषगरी बिपी राजमार्ग बर्दिबास हुँदै बाहिरिने सवारी साधनको उच्च भारवहनका कारण जोखिम बढिरहेको गुनासो आइरहेका बेला यातायात व्यवस्था कार्यालयले शनिबार औपचारिक रूपमा तौलपुलस्टेसन उद्घाटन गरेको छ ।

 

तौलपुल स्टेसन स्थापनाले दुर्घटनाको जोखिम कम हुनुका साथै सडक जीर्ण हुनबाट जोगिने हँुदा लामो समयदेखि खड्किरहेको अभाव पूर्ति गरेको सहभागीले बताए ।


तौलपुल स्टेसन सुरुआतसँगै अबदेखि कुनै पनि मालवाहक ट्रकले निर्धारण गरेभन्दा बढी भार बोक्न पाउने छैनन् । यदि बोकेको प्रमाणित भए छुट्याउन मिल्ने सामानलाई उतार्ने र छुट्याउन नमिल्ने भए गन्तव्य स्थानसम्मको भाडाबापतको जरिमाना हुने यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले जानकारी दिए ।

 

प्रदेश सरकारले राजस्वमा वृद्धि गर्ने उद्देश्यले तौलपुर स्टेसन स्थापना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव दीपककुमार दासले बताए । ‘प्रदेश सरकारको मुख्य आम्दानी यातायात राजस्व हुने गरेको छ । तौलपुलमा स्टेसन स्थापनापछि राजस्वमा थप टेवा पुग्ने विश्वास लिएको छु’, उनले भने ।

 

तौलपुलमा यातायात व्यवस्था कार्यालय र ट्राफिक कार्यालयबाट छुट्टाछुट्टै कर्मचारीको व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालयको नियमअनुसार अधिकतम २ हजार जरिमाना गर्न पाइने भए पनि यातायातसम्बन्धी ऐन, २०४९, २०५४ बमोजिम भार क्षमताभन्दा बढीको भाडाबापतको जरिमाना भने निर्धारण गरिएको छैन ।