close

जुम्लामा खोलियो चाडवाड लक्षित सस्तो मूल्य पसल

जुम्लामा खोलियो चाडवाड लक्षित सस्तो मूल्य पसल

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको हो ।  जुम्ला शाखाले चामल र दाल सहुलियत मूल्यमा बिक्री भइरहेको जनाएको छ । 

 

अरुवा मोटा चामल प्रतिकेजी ४७ रुपैयाँमा ५ रुपैयाँ सहुलियत छुट लिएर ४२ रुपैयाँमा बिक्री गरेको शाखा प्रमुख तिलक सुनारले बताए । उनले भने, ‘अरुवा सोना मन्सुली चामल प्रतिकेजी ५१ रुपैयाँ ३० पैसा, मासको दाल प्रतिकेजी १७० रुपैयाँ, मसुरोको दाल प्रतिकेजी १४० र अरहरको दाल प्रतिकेजी १८३ रुपैयाँमा प्रतिकेजी ५/५ रुपैयाँ सहुलियत छुट मूल्यमा बिक्री थालेका छौँ ।’

 

जुम्ला शाखाले १ असोजदेखि २४ कात्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न १ हजार क्विन्टल कोटा पाएको छ । पहिलो दिन अर्थात् १ असोजमै १९ क्विन्टल चामल छुट मूल्यमा बिक्री भएको शाखा प्रमुख सुनारले जानकारी दिए । 


सहुलियत छुट मूल्यमा चामल विक्री वितरण गर्न शाखाले तालिका सार्वजनिक गरेको छ । आइतबार चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मंगलबार गुठीचौर, बुधबार तातोपानी, बिहीबार हिमा र कनकासुन्दरी एवं शुक्रबार तिला र सिंजाका लागि तालिका तोकिएको छ । बिहान १० देखि ३ बजेसम्म, प्रतिव्यक्ति दुई बोरा (६० केजी) र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नुपर्ने शाखाले जनाएको छ ।


 

यस्तै, सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले देशभरका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।  पसल आगामी २४ कात्तिकसम्म खोलिने कम्पनीले जनाएको छ । यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमै यी पसल सञ्चालन गरिएको हो ।

 

उपभोक्ताले नुन प्रतिकिला १८, चिनी प्रतिकिलो ७९ मा र अन्य खाद्यान्न प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिन ३ करोड रुपैयाँ छुट्याएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिन ३ करोड २५ लाख रुपैयाँ छुट्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । मन्त्रालयले खाद्य कम्पनीका लागि १ करोड ७५ लाख र कर्पोरेसनका लागि डेढ करोड रुपैयाँ छुट्याएको छ ।