close

संसदको ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा गर्नुपर्छ :  सभामुख सापकोटा

संसदको ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा गर्नुपर्छ :  सभामुख सापकोटा

Trulli
ADVERTISEMENT

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संघीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले संघीय संसद ठीक बाटोमै अघि बढिरहेको दाबी गरेका छन्  ।

 

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा सभामुख सापकोटाले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलोे विश्वविद्यालय बनेको धारणा व्यक्त गरे ।

 

सभामुख सापकोटाले भने, ‘समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ  जारी भएको नेपालको संविधान महत्वकांक्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ । लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो ।’

 

संघीय संसदको ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र संकल्प गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कम्जोरी छ । कार्यसम्पादनमा देखिएका कमी कमजोरी सुधार, परिमार्जनका लागि कडा मिहिनेत र इमान्दार प्रयास आवश्यक छ ।’ 

 

प्रतिनिधिसभा विघटन प्रतिनिधिसभाले मात्र गर्न सक्ने व्यवस्था हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा केकस्ता कमजोरी भए त्यसको गम्भीर आत्मसमीक्षा गरिनुपर्छ ।’

 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र संघीयता  कार्यान्वयनको प्रतिफल नागरिकले के कति प्राप्त गर्न सके त्यसको गहन समीक्षा हुनुपर्ने धारणा राखे । उनले भने, ‘विधि बनाउने मुख्य जिम्मेवारीमा हाम्रो पहल कस्तो रह्यो, सुशासनका माध्यमद्वारा मुलुक र नागरिकलाई समृद्ध बनाउन भएका प्रयासको समीक्षा हुनुपर्छ, हाम्रो मिहिनेतले इतिहासको कठघरामा इमान्दारपूर्वक काम गरेको भन्ने छवि बनोस् ।’


    
राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले लामो संघर्ष र ठूलो बलिदानीको उपलब्धिका रुपमा संविधानसभाबाट जारी भएको संविधानका उल्लेखित मौलिक अधिकार लगायतका विषयवस्तु कार्यान्वयन गरी जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्न सबैको इमान्दार प्रयासको खाँचो रहेको बताइन् ।

 

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोकतान्त्रिक मूल्यमान्यतालाई राजनीतिक दल, नागरिक समाज र भ्रातृ संगठनलाई एक ठाउँमा भेला भएर जनता र मुलुकको हित प्रवद्र्धनका लागि अनुभव साटासाट गर्न सकियोस् भन्ने हेतुले संविधान दिवसका अवसरमा लोकतन्त्र मेला आयोजना गरिएको जानकारी दिए ।