close

जिल्ला सदरमुकाम र कोल्टीका खाद्य डिपो रित्तिए 

जिल्ला सदरमुकाम र कोल्टीका खाद्य डिपो रित्तिए 

Trulli
ADVERTISEMENT

बाजुरा–सदरमुकाम मार्तडी डिपोमा चामल सकिएपछि सूचना टाँस गरी बन्द गरिएको छ ।  बाजुराका पूर्वी उत्तरी क्षेत्रका चार वटा स्थानीय तहका लागि खाद्यान्न वितरण गर्दै आएको कोल्टीमा रहेको खाद्य डिपोले समेत एक महिना अगाडिबाट बिक्री बन्द गरेको थियो ।


सदरमुकाम आउजाउ गर्ने साँफे–मार्तडी सडक खण्ड र मार्तडी–कोल्टी सडक खण्ड वर्षाले भत्काएको दुई महिनासम्म पनि सञ्चालन हुन नसकेपछि खाद्यान्न ढुवानीमा समस्या हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल अभाव भएको हो ।


 
कोल्टीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो त्यस क्षेत्रका स्वामीकार्तिक खापार, जगन्नाथ, हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकाका स्थानीयलाई खाद्यान पुर्‍याउन  स्थापना गरिएको थियो । सदरमुकाम मार्तडी डिपोले मार्तडी आसपास खाद्यान्न वितरण गथ्र्यो । अहिले मार्तडी र कोल्टीमा गरी जम्मा ६५ क्विन्टल मात्र चामल बाँकी छ । कैदीबन्दीका लागि नपुग्ने भएपछि बन्द गरिएको हो ।


संस्थानमा चामल सकिएपछि स्थानीय महँगो चामल किनेर खान बाध्य छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कोल्टी शाखामा मोटो चामल एक केजीको ४८ पर्छ भने बजारमा सोही चामल प्रतिकेजी ७० रुपैयाँ बढी पर्छ ।


 
बाजुरामा आफ्नो उत्पादनले तीन महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ । हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ । त्यसको पूर्ति खाद्य व्यापारले गर्दै आएको छ । कोरोनाले समस्यामा रहेका यहाँका नागरिकलाई भोकमरीले सताउने देखिएको छ ।


कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा पूरै क्षेत्रफलको ९.२१ प्रतिशत मात्रै खेतीयोग्य जमिन छ । त्यसमा जम्मा सिञ्चित क्षेत्र १.४२ प्रतिशत मात्र छ ।
अर्थात्, ७.७९ प्रतिशत जमिनमा सिँचाइ सुविधा छैन । बाजुराको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिँचाइ सुविधा छ । बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ ।


 
कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले भने, ‘बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । यस वर्ष गहुँ खेतीसमेत त्यति राम्रो भएको छैन । २० प्रतिशत उत्पादन घटेको छ । तीन महिना मात्र खाना पुग्ने ४० प्रतिशत जनसंख्या छ ।’

 

उनका अनुसार असार, साउन र भदौमा गरेर स्थानीयलाई खाद्य उत्पादन अभाव भइसकेको छ । खाद्यान्न आपूर्ति नगर्ने हो भने ठूलो संख्याको जनसंख्यालाई खाद्यान्न व्यवस्थापनका लागि समस्या रहेको जोशीले जानकारी दिए ।


नागरिक समाज बाजुराका अध्यक्ष अग्निराज शाहीले भने, ‘मान्छेले बाँच्न पाउने अधिकार राज्यले सुरक्षित गरिदिनुपर्छ । स्थलगत मार्गबाट सम्भव देखिँदैन । चारैतिरको बाटो पहिरोले बगाएकाले तिहार अगाडि खोल्न सम्भव छैन । कोल्टीमा रहेको एयरपोर्टबाट हवाईमार्फत ढुवानी गरेर चाँडोभन्दा चाँडो खाद्यान्न आपूर्तिमा जोड दिनुपर्छ ।’