close

स्थानीय तह सवल नभए लोकतन्त्र मजबुत हुँदैन : नेता पोखरेल

स्थानीय तह सवल नभए लोकतन्त्र मजबुत हुँदैन : नेता पोखरेल

Trulli
ADVERTISEMENT

महोत्तरी– नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले लोकतन्त्रको सुदृढीकरणका लागि स्थानीय तह सवल र सक्षम हुनपर्ने बताएका छन् ।  महोत्तरीको बर्दिवास नगरपालिका कार्यालय प्रयोजनको प्रशासनिक भवनको शिलान्यास गर्दै महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका  पोखरेलले भने, ‘लोकतन्त्रको आधारभूत तह भनेकै स्थानीय तह र यस तहका स्थानीय बासिन्दा हुन् ।’  स्थानीय तहका बासिन्दा सर्वसाधारणले लोकतन्त्रको साँचो उपभोगको अनुभूति आफ्नै ठाउँबाट गर्न पाउनुपर्ने उनले बताए ।  नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणले आधारभूत तहका जनतासम्म सेवा प्रवाहमा थप सहजता हुने पोखरेलले विश्वास व्यक्त गरे ।

 

बर्दिवास नगर कार्यपालिकाको कार्यालय भवन बर्दिवास–१४ मा शिलान्यास गर्दै नेता पोखरेलले विकास निर्माणका कार्यमा सबै दल, सबै समाजका अङ्ग एक हुनुपर्ने औँल्याए । बर्दिवास–१४ मा सार्वजनिक स्वामित्वको ०१–१३–० (एक बिघा १३ कठ्ठा) र दाताहरू रमेश भण्डारी, कुमार भण्डारी, विनोद भण्डारी, गोपीराज पोखरेल, टीकाराज पोखरेल र डाकराज पोखरेलसहितले निःशुल्क उपलब्ध गराएको  दुई कठ्ठासहित जम्मा ०१–१५–०० (एक बिघा १५ कठ्ठा) क्षेत्रफलभित्र कार्यालय भवन निर्माणको काम आज प्रारम्भ भएको हो ।

 

खुला बोलपत्र प्रक्रियाबाट एएम–पाइनस ओमनीलकण्ठेश्वर जेभी निर्माण कम्पनीले ९ करोड ३७ लाख लागतमा निर्माण गर्ने गरी सम्झौता भएपछि शिलान्यास सम्पन्न भएको हो । कार्यालय भवन निर्माण दुई वर्षभित्र सम्पन्न गरिने सम्झौता भएको निर्माण कम्पनीका अध्यक्ष कृष्ण खत्रीले बताए । कार्यालय भवन निर्धारित समयभित्र निर्माण सम्पन्न भएर सेवा प्रवाह आफ्नै भवनबाट थालिने नगरप्रमुख बिदुरकुमार कार्कीले विश्वास व्यक्त गरे ।