close

फोहोरलाई मोहर बनाउँदै मध्यपुर थिमि

फोहोरलाई मोहर बनाउँदै मध्यपुर थिमि

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरकी सन्तलक्ष्मी श्रेष्ठलाई कुनै समय घरबाट निस्कने फोहोर व्यवस्थापन गर्न चटारो हुन्थ्यो । मध्यपुर थिमि नगरपालिकाको वडा नम्बर ४ मा बस्ने उनी फोहोरलाई घर नजिकैको खुला ठाउँमा फाल्ने र हतारहतार घर जाने गरेको सुनाउँछिन् । उनी भन्छिन्, ‘फोहोर फाल्ने ठाउँ नै थिएन । खुला जग्गा वा जंगल देख्यो कि फोहोर फालिहाल्थ्यौँ ।’ उनलाई अहिले भने फोहोर फाल्ने वा व्यवस्थापन गर्ने समस्या छैन । घरबाट निस्कने फोहोरलाई पालिकाले मल बनाएसँगै विगतको समस्या भोग्न नपरेको उनी स्मरण गर्छिन् ।  उनी भन्छिन्, ‘अहिले नगरपालिका फोहोर घरघरमै लिन आउँछ । त्यसबाट न हामीले शुल्क तिर्नुपर्छ, न त पैसा नै । केवल फोहोर जम्मा गर्ने हो, पठाउने हो ।’

 

नगरपालिकाले स्थानीयको घरबाट निस्कने कुहिने फोहोरलाई संकलन गरी रिकिसी कम्पोस्ट मल प्रालिले मल बनाउँदै आएको छ । कम्पनीले फोहोरबाट मल उत्पादन मात्रै नभई मोहर पनि संकलन गर्दै आएको छ । घरबाट निस्कने फोहोरबाट रोजगारी पाएसँगै स्थानीय पनि मख्ख छन् ।  रिकिसीले मध्यपुर थिमि नगरपालिकासँग समन्वय गर्दै आएको छ । यसबाट स्थानीयले फोहोर व्यवस्थापनसँगै रोजगारसमेत पाएका छन् । 

 

कम्पनीले साताको प्रत्येक मंगलबार बिहान ७ देखि १२ बजेसम्म स्थानीयको घरबाट फोहोर संकलन गर्दै आएको छ । सुरुमा पाइलट प्रोजेक्टको रूपमा सञ्चालन गर्दै आएको कम्पनीले क्रमशः अरू क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ ।

 

कम्पनीका निर्देशक उषा गिरीका अनुसार जापानको तोकजाई प्रविधिबाट फोहोर संकलन गर्दै कम्पोस्ट मल बनाउँदै आएको छ । सुरुमा वडा नम्बर ४ का सबै स्थानीय र ५ का केही घरधुरीसँग फोहोर संकलन गर्दै आएको उनले जानकारी दिइन् । स्थानीयको घरबाटै ल्याएको फोहोरलाई कम्पोस्ट मल बनाई देशका विभिन्न क्षेत्रका बिक्री गर्दै आएको उनी बताउँछन् । 

 

उनका अनुसार कम्पोस्ट मल प्रतिकेजी २५ देखि ३५ रुपैयाँमा बिक्री गरिँदै आएको छ । अझ स्थानीयलाई अन्यत्रभन्दा कम रकममा मलद बिक्री गरिँदै आएको उनको भनाइ छ । 

 

फोहोरबाट कम्पोस्ट मल


कम्पनीले पालिकाको वडा नम्बर ४ र ५ का केही स्थानीयलाई कम्पोस्ट बाल्टिन दिएको छ । ३२ लिटर फोहोर अट्ने क्षमताको बाल्टिन ६ जना सदस्य परिवारलाई पुग्ने गरिएको वितरण गरिएको रिकिसीका तालिमकर्ता सुलचना कपालीले बताइन् । 

 

बाल्टिनसँगै बोरामा २० लिटरको तोकजाई दिइन्छ । तोेकजाई भनेको धुतो, रातोमाटो, पात र भुसबाट बनेको मिश्रण हो । यसले फोहोरलाई कुहिन र गन्हाउन दिँदैन । फोहोर कुहिए मल नबन्ने उनी बताउँछिन् । 

 

संकलित फोहोरलाई रिकिसीले पालिकाको सहयोगमा प्रत्येक साताको मंगलबार स्थानीयको घरबाटै संकलन गरेर ल्याउछ । संकलित फोहोरलाई चरणबद्ध रूपमा पल्टाउने वा चलाउने गरिन्छ । निश्चित समय पुगेपछि कम्पोस्ट मल बन्छ । ‘मल गन्हाउँदैन । तापक्रम पनि हुँदैन तर जुनसुकै बाली वा खेतीका लागि उपयुक्त हुन्छ’, उनी भन्छिन् । 

 

डम्पिङ क्षेत्र सम्पदामा परिणत

 

नगरपालिकाले फोहोरको डम्पिङ क्षेत्रलाई हाल सम्पदा क्षेत्रमा परिणत गरेको छ । मध्यपुर थिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले रिकिसीले हालसम्म ३ करोड रुपैयाँ बढीको मल बिक्री गरिसकेको छ । स्थानीयले कम्पनीबाट रोजगारीसमेत पाएको उनले उल्लेख गरे । 

 

हाल पाइलट प्रोजेक्टको रूपमा वडा नम्बर ४ र ५ का करिब ५ हजार स्थानीयको घरबाट फोहोर संकलन गरिँदै आएको छ । विस्तारै अरू वडामा पनि काम गर्ने योजना रहेको उनले जानकारी दिए ।  अरू वडाको स्थानीयले मासिक ३ सय ५० रुपैयाँ तिरेर निजी कम्पनीले फोहोर संकलन गर्दै आएको छ । निजी कम्पनीले संकलित फोहोरलाई बन्चरे डाँडामा लैजाने गरेको छ । 

 

‘हामीले फोहोर फाल्ने क्षेत्रमा पार्क र सम्पदा निर्माण गर्दै आएका छौँ । हाल सो क्षेत्रका फोहोर व्यवस्थापन हुँदै आएको छ । कुमारी पार्क, शंकधर पार्कलगायत अधिकांश पार्क अहिले फोहारबाट मुक्त भएको दाबी उनको छ ।