close

मुख्यमन्त्री केसीले लिए चौहानका छोराछोरीको जिम्मा

मुख्यमन्त्री केसीले लिए चौहानका छोराछोरीको जिम्मा

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आर्थिक अभावका कारण समयमा उपचार नपाएर मृत्यु भएका युद्ध पत्रकार बिन्दुकुमार चौहानका छोराछोरीको व्यवस्थापन गर्ने भएका छन् । 

 

शनिबार चौहान परिवारलाई समवेदना दिन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ मोगलहा चोक पुगेका केसीले दयनीय आर्थिक अवस्था देखेपछि उनका छोराछोरीको जिम्मा लिने बताएका हुन् । चार छोरा, तीन छोरी र श्रीमतीका अभिभावक चौहानको २९ भदौमा उपचारको क्रममा निधन भएपछि उनको परिवार विचल्लीमा परेको थियो ।

 

२०५५ बाट पत्रकारिता गरेका चौहानले नेपालका विभिन्न मिडियामा निरन्तर लेख्दै आएका थिए । माओवादीको सशस्त्र विद्रोहमा सुरक्षाकर्मीबाट समेत यातना झेलेका चौहानको मृत्यु आर्थिक अभावको कारण भएको थियो ।  चौहानलाई निमोनियाका कारण स्वास्थ्यमा जटिल समस्या आएपछि तौलिहवा अस्पताल हुँदै प्रादेशिक अस्पताल बुटवल पुर्‍याइएको थियो ।

 

प्रादेशिक अस्पताल बुटवलमा उनको स्वास्थ्य अवस्था गम्भीर भएको थाहा पाएपछि नेपाल पत्रकार महासंघ रूपन्देही शाखा, लुम्बिनी प्रेस क्लब र प्रेस संगठन नेपालको पहलमा सुविधासम्पन्न अस्पताल युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल रानीगाउँ भैरहवामा उपचारका लागि लगिएको थियो ।  तर, उनको स्वास्थ्य अवस्था निकै जटिल भएका कारण अस्पताल भर्नाको दुई दिनपछि २९ भदौमा मृत्यु भएको थियो ।

 

जीवनभर निःस्वार्थ निःशुल्क सेवामा लागिरहने चौहानले व्यक्तिगत रूपमा भने आर्थिक उन्नति गर्न सकेका थिएनन् । ४९ वर्षीय चौहानको निधनसँगै उनको परिवारले आर्थिक झमेला बेहोरिरहेको छ । घरमा एक अपांगता र अशक्त छोरीसमेत रहेका चौहानका छोराछोरीको व्यवस्थापन मुख्यमन्त्रीले गर्ने आश्वासन दिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।