close

जुम्लामा फोहोर उठाएरै मनाइयो संविधान दिवस

जुम्लामा फोहोर उठाएरै मनाइयो संविधान दिवस

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्ला मुकाम खलंगा अर्थात चन्दननाथ नगरपालिकाभित्रका बजार क्षेत्रमा फोहोर उठाएर सरसफाइ गरी संविधान दिवस मनाइएको छ । चन्दननाथ नगरपालिकाले सरसफाइ तथा फोहोर संकलन गर्नुपर्ने हो । तर, लामो समयदेखि फोहोर नठाएर बजार दुर्गन्धित भएपछि संविधान दिवसकै दिन फोहोर उठाएर सरसफाइ गरिएको हो । 

 

संविधान दिवस अवसर पारेर जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, उद्योग वाणिज्य संघलगायतका प्रतिनिधि भेला भएर सरसफाइ गरिएको हो । 

 

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार जनप्रतिनिधिले चुनावका बेला अगाडि सारेका नाराअनुसार काम भएनन् । उनले भने, ‘अहिले आफैंले  घोषणा गरेका नारा कार्यान्वयन नहुँदा असफल भइसकेका छन् । घरगाउँका कुरा नगरौँ, यही बजार क्षेत्र पनि सधैं सेना, प्रहरीले सरसफाइ गर्नुपरेको छ ।’  फोहोर व्यवस्थापनको दीर्घकालीन योजना नहुँदा नगर सधैँ दुर्गन्धित भएको उनको भनाइ छ । फोहोर उत्पादनकर्ताबाट कर संकलन गरिए पनि नगरपालिकाले व्यवस्थापन नगर्दा समस्या देखिएको उनले बताए । 

 

चन्दननाथ नगरपालिका वातावरण तथा सरसफाइ शाखा प्रमुख नायव सुब्बा लक्ष्मीचन्द्र न्यौपानेका अनुसार डम्पिङ साइट व्यवस्थापन नभएकाले नियमित रूपमा बजारको फोहोर नउठेको हो । उनले भने, ‘फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापन योजना बनाएका छौँ । अब नियमित रूपमा फोहोर संकलन गरिनेछ ।’ नियमित नभए पनि बेलाबेला नगरपालिकाले फोहोर उठाउने गरेको र कर नलिएको उनको दाबी छ । 

 

संविधान दिवस अवसरमा सरकारले धार्मिक तथा पर्यटन क्षेत्र सरसफाइ गर्नू भन्ने परिपत्र गरेकाले सरसफाइ गरी दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।  उनले भनिन्, ‘नगर सरसफाइ तथा फोहोर संकलन गर्ने नगरपालिकाकै दायित्व र जिम्मेवारी हो । यसमा नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्दछ । आफ्नो घरआँगनबाट उत्पादित फोहोर आफैं  व्यवस्थापन गर्नुपर्छ ।’ 

 

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले डम्पिङ साइटमा सडक पु¥याउनकै लागि धेरै बजेट खर्च भएको बताए । तर, फोहोर व्यवस्थापन भने हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘बजेट पनि नरहने, फोहोर पनि व्यवस्थापन नहुने । सबै आ–आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले बजारमा थुनेर हिँड्नुपर्ने स्थिति आएको हो ।’