close

खिजीदेम्बा बजारमा मनपरी मूल्य, बल्ल बन्याे अनुगमन संयन्त्र

खिजीदेम्बा बजारमा मनपरी मूल्य, बल्ल बन्याे अनुगमन संयन्त्र

Trulli
ADVERTISEMENT

ओखलढुंगा- जिल्ला प्रशासन कार्यालयको परिपत्रपछि खिजीदेम्बावा गाउँपालिकाले बजार अनुगमन समिति बनाएर अनुगमन थालेको छ ।

 

स्थानीय तहका हाटबजारमा अनुगमन तथा सुपीवेक्षण नहुँदा बजारमा मनपरी मूल्य लिन थालिएको उपभोक्ताको गुनासोपछि गाउँपालिकाले अनुगमन सुरु गरेको हो । बजारमा उपभोग्य वस्तुमा मनपरी मूल्य लिने, म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण गर्नेलगायत काम भइरहेको उपभोक्ताको गुनासो छ ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को (ञ)मा स्थानीय वस्तु तथा सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्नेलगायत उपभोक्ता हित संरक्षण कार्य सम्बन्धित स्थानीय तहको हुने उल्लेख छ ।

 

त्यस्तै, उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा २८ मा उपभोक्ताको अधिकार संरक्षणका लागि वस्तु तथा सेवाको आपूर्ति व्यवस्था, मूल्य गुणस्तर तथा शुद्धतासम्बन्धी विषयमा बजारको स्थलगत सुपरिवेक्षण तथा अनुगमन गर्न सम्बन्धित स्थानीय तहले स्थानीय बजार अनुगमन समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

 

परिपत्र र ऐनको व्यवस्थामा टेकेर खिजीदेम्बाबाले केन्द्रका ४० पसलमा अनुगमन गरेको छ । खिजीफलाटे बजारमा साप्ताहिक रुपमा लाग्ने हटियालाई लक्षित गरेर बजार अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए ।

 

प्रमुख जिल्ला अधिकारीको परिपत्रअनुसार गाउँपालिकाको उपभोक्ता हित संरक्षणअन्तर्गतको बजार अनुगमन समितिलाई सक्रिय बनाएर अनुगमन थालिएको उनले जानकारी दिए ।

 

पौडेलले भने, ‘चाडवाडका बेला हुन सक्ने कालोबजारी र अखाद्य वस्तुको बिक्री वितरण रोक्न मुख्य तथा सहायक व्यापारिक केन्द्र र पसलमा अनुगमन गर्ने कार्यसूची बनाएका छौँ ।’

 

बजार अनुगमनका क्रममा खिजीफलाटेका अधिकांश पसलमा मूल्यसूची नराखेको, उपभोग्य मिति सकिएका अखाद्य वस्तु बेच्ने गरेको, व्यवसाय दर्ता नगरेको जस्ता समस्या देखिएका थिए । अखाद्य वस्तु बरामद गरेर नष्ट गरिएको छ ।

 

व्यवसाय दर्ता तथा नवीकरण नगरेका व्यवसायीलाई कानुनी मापदण्डअनुसार दर्ता तथा नवीकरण गर्न र ग्राहकले देखिने ठाउँमा मूल्यसूची राख्न सात दिनको समय दिइएको पौडेलले बताए ।

 

तोकिएको समयभित्र कानुनी मापदण्ड नअपनाउने र कालोबजारी गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने पौडेलले जानकारी दिए ।

 

जिल्लाका अन्य स्थानीय तहले भने बजार अनुगमन गरेका छैनन् । आफ्नो क्षेत्रभित्रका बजारको अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहकै भएकाले स्थानीय अनुगमन समितिलाई सक्रिय बनाउन पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।