close

पहिरो रोकथामका लागि प्रभावित क्षेत्र अवलोकन

पहिरो रोकथामका लागि प्रभावित क्षेत्र अवलोकन

Trulli
ADVERTISEMENT

स्याङ्जा/वालिङ– स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ तमादीमा गत वर्ष गएको पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रभावित क्षेत्रको अध्ययन अवलोकन गरिएको छ ।

 

वालिङ नगरपालिका र गण्डकी प्रदेश भू– संरक्षण तथा जलाधार डिभिजन कार्यालयको संयुक्त पहलमा पहिरो प्रभावित क्षेत्रमा रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपाय अपनाउन योजना बनाउन लागिएको हो ।

 

सडक विभागले खनेको बाटोका कारण गत वर्ष असोजमा माथिबाट पहिरो आएसँगै एकै घरका ९ जनाको पुरिएर मृत्यु भएको थियो भने पशु चौपाया मरेका थिए ।पहिरोका कारण घरै भत्किएपछि चार घर विस्थापित भएका छन् ।

 

गत वर्ष पहिरो गएको ठाउँभन्दा माथि जमिन चर्किएकाले त्यसको रोकथाम र बाढीपहिरो गइसकेको ठाउँमा नियन्त्रणका लागि अपनाउन सकिने उपायबारे इञ्जिनियरको टोलीले अध्ययन गरेर सोहीअनुसार योजनासहित अगाडि बढ्ने नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।


आगामी दिनमा थप क्षति हुन नदिन माटोको अवस्था हेरी जाली लगाउने, पर्खाल लगाउने र वायो–इन्जिनियरिङ प्रविधि प्रयोग गरेर पहिरो रोकथाम तथा नियन्त्रण गरिने नगरप्रमुख खाँणले जानकारी दिए ।

 

पहिरोका कारण विस्थापित परिवारका लागि जग्गा छनोट र आवास निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । भू–संरक्षण तथा जलाधार डिभिजन कार्यालयका वरिष्ठ अधिकृत दिवाकर पौडेलले नगरपालिकासँगको सहकार्यमा यो ठाउँमा छिट्टै काम सुरु गरिने जानकारी दिए । गत वर्ष नगरपालिका र जलाधार कार्यालयको साझेदारीमा वायो–इञ्जिनियरिङ प्रविधिबाट तटबन्ध गरिएको थियो ।