close

जुम्लामा आत्महत्याको डरलाग्दो तथ्यांक 

गरिबीदेखि पारिवारिक झगडा मुख्य कारण

जुम्लामा आत्महत्याको डरलाग्दो तथ्यांक 

गरिबीदेखि पारिवारिक झगडा मुख्य कारण

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा आत्महत्या गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको पाइएको छ । गरिबी, हिंसा, लाञ्छना, एक्लो जीवन बिताइरहेकाले बढी आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको विश्लेषण छ । 


त्यस्तै, पारिवारिक झैझगडा, दुरुत्साहन, व्यक्तिगत तनाव, सामाजिक तथा मानसिक तनावले पनि मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको बुझाइ छ ।
मनोसामाजिक परामर्शकर्ता नन्दराज आचार्यका अनुसार आत्महत्या रोकथाम गर्न सकिने समस्या हो । उनले भने, ‘आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिसँग कुरा गर्दा तिनले आफ्नो भावना अरूले बुझिदिएको महसुस गर्छन् ।’


जुम्लामा आत्महत्याका घटना बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि मनोचिकित्सक राख्न पहल गर्न आश्यक भएको उनको ठम्याइ छ । उनले भने, ‘पछिल्लो समय अस्पतालमा पनि यस्ता खाले समस्या आउने गरेका छन् । यस विषयमा गम्भीर रूपमा सोच्न जरुरी छ ।’ जुम्लामा भइरहेका आत्महत्या घटना रोक्न प्रत्येक स्थानीय तहमा सामाजिक परामर्शकर्ताको व्यवस्था गरेर सचेतनाका कार्यक्रम चलाउनुपर्ने आवश्यकता आचार्य औँल्याउँछन् । 


उनले भने, ‘कोरोना महामारीले आफ्नो भविष्य खोज्न तम्सिएकाहरू घरमै खाली बस्नुपर्दा चिन्ता हुनु, शारीरिक छटपटी, हृदयगति बढ्नु, उकुसमुकुस, स्मरणशक्तिमा कमी र पर्याप्त निद्रा नलाग्नुजस्ता मानसिक समस्या बल्झिए । सोही कारण धेरैले मानसिक समस्या निम्तिएपछि आत्महत्याको बाटो रोजेको देखिन्छ । यस्ता व्यक्तिको गुनासो सुन्न हटलाइन सेवाको व्यवस्था हुन जरुरी छ ।’ जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार तीन वर्षे अवधिमा ३२ जनाले आत्महत्या गरेका छन् ।


आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७७/७८ को तथ्यांक हेर्दा ३२ जनाले आत्महत्या गरेका छन् । यीमध्ये वर्ष २०७७/७८ को तथ्यांकमा १४ जनाले आत्महत्या गरेका छन् ।


२०७८/७९ दुई महिने अवधिमा दुई जनाले आत्महत्या गरेका छन् । यसमा ६ जनाले विष सेवन र एक जनाले नदीमा हाम फालेर आत्महत्या गरेका छन् । बाँकी सबैले झुन्डिएर मृत्युवरण गरेका हुन् । 

 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवन चौधरीले भने, ‘आत्महत्या गरेकामध्ये ९० प्रतिशतले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने बालबालिकामध्ये पनि अधिकांश मानसिक समस्याबाट पीडित भएका हुन् ।’


जुम्लामा प्रेम सम्बन्धमा परेर विछोड भएका किशोर, किशोरीले पनि आत्महत्या गर्ने गरेका छन् । त्यस्तै, गरिबी, बाबुआमाले आधारभूत आबश्यकता पूरा गर्न नसकेका कारण पनि आत्महत्या गरेको देखिएको छ ।


महिलाले घरेलु हिंसाका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् । बदलिँदो जीवनशैली र तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याका घटना वृद्धि हुँदै गएको हो ।

 

आत्महत्या न्यूनीकरणका गतिविधि 


विगतका वर्षमा जुम्लामा प्रहरी साझेदार कार्यक्रममार्फत आत्महत्या न्यूनीकरणका केही गतिविधि गरिएका थिए । यस पटक कोरोनाका कारण खासै गतिविधि भएनन् । यद्यपि, कोरोना महामारी कम भए बालविवाह, अनमेल विवाह, घरेलु हिंसाविरोधी आदि कार्यक्रममा प्रहरीले जोड छ ।


‘तीनै तहका सरकारले कानुनी, नीतिगत तथा कार्यक्रम ल्याएर जोखिममा रहेका व्यक्तिको पहिचान तथा मनोसामाजिक परामर्श दक्ष जनशक्ति व्यवस्था गरेर रोक्न सकिन्छ,’ उनले भने, ‘त्यसको पहल गर्न आवश्यक प्रक्रिया सरकारले थाल्नुपर्छ ।’