close

विकासको चेपुवामा परे बटुवाको थकाइ मेटाउने थलो बिसौनी चौतारी

विकासको चेपुवामा परे बटुवाको थकाइ मेटाउने थलो बिसौनी चौतारी

Trulli
ADVERTISEMENT

कास्की–पहिले–पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाको थकाइ मेटाउने थलो चौतारी अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरी बसेर शीतल हावा लिँदै मायाप्रेमका कुरा गर्ने तथा बाघचाल खेल्ने थलोका रूपमा रहेका चौतारी पछिल्लो समय नासिँदै गएका हुन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । यी मौलिकताका पहिचान हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ । 

 

पहिले अहिलेजस्तो यातायातका साधन नहुँदा भरियाबाटै सामान बोक्ने काम हुन्थ्यो । ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए । भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरूको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए ।  यति मात्र नभएर युवायुवतीको मायाप्रेम दर्शाउने, पाका पुस्ता एकै ठाउँ जम्मा भएर दुःख–सुखका कुराकानी गर्ने ठाउँ हो, चौतारी ।  चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्ति पनि भेला भएर बागचाल खेली दिन बिताउन चौतारी नै प्रयोग गर्दथे । 

 

आध्यात्मिक दर्शनमा पनि चौतारीको ठूलो महत्त्व छ । यसलाई मानिसले पुण्य कमाउने संरचनाका रूपमा लिने गरेको पाइन्छ । मानिसले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्नेजस्ता कार्यलाई पुण्य कमाउने कामका रूपमा लिने गर्दथे ।  ती चौतारीमा वरपीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्ने गर्दछ । यसरी यी संरचना मानिसको स्वास्थ्यसँग पनि जोडिएका छन् ।

 

नेपालमा पछिल्लो समय विकासका नाममा मोटर बाटो खन्ने होडबाजी सुुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्त्वपूर्ण सम्पदा नाश हुँदै गएका छन् । मोटर बाटोको सुविधा र सवारीसाधनको प्रयोगसँगै चौतारीहरू बिर्सिंदै जान थालिएको छ । मान्छे हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्त्व पनि कम हुन थाल्यो । तर, चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन, पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले यसको महत्त्व र गरिमा कालजयी बनेर रहने पं नीलकण्ठ शर्मा आचार्यले बताए ।

 

उनले चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पीपलसँगै (नजिकै) रोपिने हुँदा वर र पीपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बाघचाल खेल्ने कोठा परम्परागत चौतारोकोे विशेषता भएको जानकारी दिए ।गर्मीयाममा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’ को एउटै आश्रयस्थल चौतारी हुन् । अब के फेरि पनि पहिलेजस्तै ब्युँतिएलान् त पुर्खाले बनाएको थकान भुलाउने चौतारी ? 

 

अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि म्याग्दीमा भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीहरूको मर्मत र संरक्षण तथा नयाँ चौतारी निर्माणमा चासो देखाएका छन् ।  गण्डकी प्रदेश सरकारले पनि पुर्खाले बनाएको चौतारो ब्युँताउने अभियान चलाएको छ ।

 

चौतारी संरक्षण अभियानमा गण्डकी प्रदेश सरकार

 

गण्डकी प्रदेश सरकारले ऐनै बनाएर चौतारी संरक्षण गर्ने अभियानमा लागेको छ । गण्डकी प्रदेशसभाले २७ माघ २०७५ मा स्वीकृत गरेको विधेयकले प्रदेश मातहतका कुनै पनि चौतारोमा भौतिक क्षति पुर्‍याउनुलाई कानुनी रूपमा दण्डनीय कार्यका रूपमा परिभाषित गरेको छ । यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पुर्‍याए प्रचलित कानुनबमोजिम दण्ड दिइने व्यवस्थासमेत छ ।

 

यो ऐनले वर, पीपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ । ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीव्रता दिन एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ ।  सो कोषमा सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वरपीपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरि कुवाकुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरू काममा खर्च गर्न नपाइने उल्लेख ऐनमै गरेको छ ।

 

यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै गण्डकी प्रदेश मातहत गत आर्थिक वर्षमा मात्रै झन्डै २० वटा चौतारो निर्माण भइसकेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणका लागि १ लाख रुपैयाँ विनियोजन गर्ने गरिएको छ । 

 

स्थानीय तहको अभियान

म्याग्दीका स्थानीय तह र समुदाय पनि पर्यावरणीय र धार्मिक महत्त्वका चौतारीको संरक्षण, मर्मत र निर्माणमा जुटेका छन् । विकास र सुविधाको नाममा नासिँदै गएका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि यहाँका केही स्थानीय तहले समुदायसँगको सहकार्यमा सामूहिक अभियान सुरु गरेका छन् । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका वरपीपल र चौतारी–पोखरीको संरक्षण र मर्मतसम्भारका लागि म्याग्दीका विभिन्न गाउँमा अभियानै सञ्चालन गरिएको छ ।

 

६ वटा स्थानीय तह रहेको म्याग्दीका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिक, रघुगंगा र अन्नपूर्ण गरी ५ स्थानीय तहका १४ वटा वडामा वरपीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ ।

 

बेनी नगरपालिकालगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण कार्य गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगत रूपमा समेत वरपीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ ।

 

बेनी नगरपालिका वडा नम्बर ६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वरपीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब ५ लाख रुपैयाँ बजेट खर्च गरेको वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले जानकारी दिए । पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकाँै अगाडिका वरपीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उनले बताए । 


ग्रामीण वस्तुको महत्त्व र यसको सुन्दरता कायम राख्न वर्षौंपहिले रोपिएका वरपीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा) को संरक्षण र मर्मतमा स्थानीयको चासो बढेको अध्यक्ष बानियाँको बुझाइ छ । उनका अनुसार १ सय वर्षभन्दा पुराना वरपीपलका रूख रोप्नेहरूको विवरण संकलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ । गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वरपीपल संरक्षण तथा रोपणका लागि ३ लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि २ लाख रुपैयाँ बजेट खर्च गरिएको उनले जानकारी दिए ।

 

उक्त बजेटबाट थानकपोखरी, जरबुटामा वरपीपल रोपन र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो । वरपीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्यांक राख्ने कामसमेत वडाले गरेको छ । वडामा अहिलेसम्मको तथ्यांकअनुसार ५० भन्दा बढी वरपीपल र चौतारी छन् । त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ ।

 

स्थानीयको सहयोगमा वरपीपल मास्न, काट्न, रूखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रूखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ ।  बेनी नगरपालिका वडा नम्बर ५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ वरपीपलका बिरुवा रोपिएको छ । बढ्दै गइरहेको अक्सिजन अभाव र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले सामुदायिक वन क्षेत्रमा १०८ वरपीपलसहित स्वामी र बेलका गरी १३७ वटा बिरुवा रोपिएको हो ।

 

देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र विश्व हिन्दु महासंघ बेनी नगरपालिका वडा नम्बर ५ को सहकार्यमा बिरुवा रोपण कार्यक्रम गरिएको देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समितिका सदस्य चिरञ्जीवी सुवेदीले बताए । बेनी नगरपालिका वडा नम्बर २ ज्यामरुककोटमा स्थानीय चन्द्रबहादुर कार्कीले आफ्नै निजी लगानीमा १७ वटा चौतारी निर्माण, १७४ ठाउँमा वरपीपल रोपण र ८ वटा पोखरी निर्माण गरेका छन् । ‘मैले यो काम धर्म कमाउने लोभले नभई वातावरणको शुद्धता र बटुवालाई शीतलता प्राप्त होला भनेर गरेको हुँ’, ५६ वर्षीय कार्कीले भने ।

 

पछिल्लो समय सार्वजनिक ठाउँमा वरपीपल रोप्ने र सडक छेउछाउ वा गोरेटो बाटोको नजिक चौतारी बनाउने क्रम बढ्दै गएकामा गाउँका वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् । धार्मिक मान्यताअनुसार पनि चौतारी निर्माण गरेर वरपीपल, बेल, समी र तुलसी रोप्ने कार्य अत्यन्त फलदायी भएको मानिएको छ । चौतारी निर्माण गरेर वरपीपल लगाइसकेपछि वर र पीपलको विवाह गरिदिने प्रचलन पनि छ ।

 

पछिल्ला २ वर्षयता म्याग्दीमा मन्दिर निर्माण र चौतारी पोखरी संरक्षण अभियानले तीव्रता पाएको स्थानीयको भनाइ छ । यस्ता कार्यले एकातिर धेरैलाई सुविधा पुग्ने र अर्कोतर्फ मानसिक सन्तुष्टि पनि मिल्ने भएकाले व्यक्तिगत वा सामूहिक रूपमा पनि पछिल्ला वर्षमा चौतारी पोखरी निर्माण गर्ने क्रम बढ्दै गएको हो । यसका साथै यस्ता कार्यले सामाजिक एकता र आपसी सम्बन्ध सुधारमा समेत सघाउ पु¥याउने स्थानीय पाका नागरिकको भनाइ छ ।