close

बाग्लुङमा अत्यावश्यकबाहेकका सेवा बन्द

बाग्लुङमा अत्यावश्यकबाहेकका सेवा बन्द

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङ नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमै संक्रमण फैलिएको आशंकामा नगरपालिकाले सोमबारदेखि लागू हुने गरी सेवा बन्द गरेको हो ।

 

 

समुदायस्तर फैलिएको संक्रमणको जोखिमलाई ध्यानमा राखेर कार्यालयबाट प्रवाह हुने सेवा स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए ।

 

 

अत्यावश्यक कामका लागि कार्यालय आउनेलाई समेत अनिवार्य स्वास्थ्य मापदण्ड कायम गर्न नगरपालिकाले अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको सूचनाअनुसार नगरका १४ वटै वडा कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा प्रवाह हुनेछैनन् ।

 


‘बजार क्षेत्रमा संक्रमण फैलिँदो छ’, नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने, ‘चाडपर्वले भीडभाड बढेको छ । सावधानी अपनाउन सकिएन भने अवस्था नियन्त्रणबाहिर जान्छ ।’

 

 

स्वास्थ्यकर्मीको परामर्शअनुसार सेवा प्रवाह रोकिएको उनले बताए । यसैबीच बागलुङ उद्योग वाणिज्य संघले उद्योग कलकारखाना, होटल रेस्टुरेन्ट, पसलमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालन गर्न आग्रह गरेको छ । चाडपर्वमा किनमेल गर्ने ग्राहकको भीडभाड हुने र कोरोना संक्रमण जोखिम कायम रहेको उल्लेख गर्दै सावधानी अपनाउन अपिल गरेको महासचिव नरेश कँडेलले जानकारी दिए ।

 

 

बाग्लुङमा कुल आठ हजार ७२२ जनाको कोरोना परीक्षण गर्दा ५२५ लाई संक्रमण भएको थियो । तीमध्ये ३६७ निको भएका छन् भने एक जनाको मृत्यु भएको थियो । हाल ८५ जना क्वारेन्टाइनमा छन् । 

 


केही दिन पहिला कोरोना नियन्त्रण खटिएका बाग्लुङ नगरका एक जनप्रतिनिधि र एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि नगरका सबै शाखामा कन्ट्याक ट्रेसिङ चलिरहेको छ ।