close

दशकौँदेखि बल्झिरहेछ ज्योतिनगरको चुरे पहिरो : नियन्त्रण नगरिँदा बटौलीलाई सधैँको पिरलो 

प्रदेश सरकार र संघीय सरकारले यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने माग 

दशकौँदेखि बल्झिरहेछ ज्योतिनगरको चुरे पहिरो : नियन्त्रण नगरिँदा बटौलीलाई सधैँको पिरलो 

प्रदेश सरकार र संघीय सरकारले यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने माग 

Trulli
ADVERTISEMENT

रूपन्देही– चुरे पहाड र त्यस क्षेत्रलाई खलबल्याउने गरी पूर्वाधार निर्माण तथा महत्त्वाकांक्षी योजनाले विकासभन्दा बढी विनास निम्त्याउने देखिएको छ । २३ वर्षअघि बुटवलको ज्योतिनगरमा आएको पहिरोले पुनः आफ्नो लय समाउन थालेपछि चुरेको संवेदनशीलताप्रति चिन्ता थपिएको हो ।


चुरेको कोखमै रहेको बुटवल उपमहानगरपालिका वरिपरिका पहाड खलबलिने गरी अघि बढाइएका महत्त्वाकांक्षी योजना केबलकार निर्माण, बिग बुद्धको परिकल्पना तथा चक्रपथ निर्माणले थप विपद् निम्तिन सक्ने भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

 

गत १३ भदौमा गएको पहिरोले बुटवल वडा नम्बर ३ ज्योतिनगरका दर्जनौँ  घरपरिवार विस्थापित हुनुपरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको जितगढी, पाखापानी क्षेत्रमा सडक अवरुद्ध हुने गरी झरेको पहिरोले चुरेको संवेदनशीलतालाई थप उजागर गरेको छ ।

 

बुटवललाई पर्यटकीय गन्तव्य बनाई आर्थिक लाभ लिने गरी निर्माण गर्न लागिएका यी योजना बुटवलबासीका लागि धराप बन्ने देखिएका छन् । आफैँमा  कमजोर जमिन रहेको चुरे पहाड खलबलिने गरी निर्माण गर्न लागिएका विकासे योजनाले विनास निम्त्याउन सक्ने वातावरणविद् तथा भू–गर्वविद्ले चेतावनी दिएका छन् ।मध्य भागबाट तिनाउ नदीले छिचोलिएको बुटवल सहर चुरे छिया–छिया पर्दै जाँदा प्राकृतिक विपद्को धरापमा पर्दै गएको उनीहरूको बुझाइ छ ।

 

चुरे क्षेत्रमा उत्खनन्, ठूल्ठूला संरचना निर्माण, वन विनासलगायत मानवीय त्रुटिका कारण भविष्यमा बुटवलले ठूलो विपद् सामना गर्नुपर्ने उनीहरूको चेतावनी छ ।राष्ट्रपति तराई मधेस चुरे संरक्षण समितिको कार्यालय बुटवलका प्रमुख अजय कार्कीले चुरे क्षेत्रमा देखिएका ठूल्ठूला दरार (छिया) ले भविष्यान बुटवलले ठूलो विपद् सामना गर्नुपर्ने देखिएको बताउँछन् । ‘चुरे पहाड आफैंमा संवेदनशील भू–भाग हो । यसलाई हलचल हुने गरी बनाइने कुनै पनि संरचनाले विपद् निम्तिन सक्छ,’ उनले भने ।


बुटवलमा अघि बढाइएका केबलकार योजना तथा बिग बुद्धको परिकल्पनाले ल्याउन सक्ने समस्याबारे पूर्वसावधानी अपनाउन नसकिए जोखिम ढोकानेरै आएको उनको बुझाइ छ ।  उनले भने, ‘हामीले चुरेको संरक्षण गर्नुपर्छ भन्दा यस क्षेत्रमा संरचना निर्माण गर्ने विषयमा सचेत गराउँदा विकास विरोधीको ट्याग लाग्ने गर्छ । तर, यथार्थमा त्यो विकासभन्दा बढी विनासै हो ।’

 

बुटवल ज्योतिनगरको पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न सरोकारवालाले माग गरेका छन् । पहिरो प्रभावित क्षेत्रका सरोकारवाला, विभिन्न संघ–संस्था, बुटवल उपमहानगरका जनप्रतिनिधि, पीडित परिवारको शुक्रबार बसेको बृहत् बैठकले प्रदेश र संघीय सरकारले यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने भन्दै पहिरो नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो । ज्योतिनगर क्षेत्र विकास परिषद्का अध्यक्ष सहदेव श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सहभागी सरोकारवालाले पहिरो नियन्त्रणका लागि विभिन्न सुझाव दिए ।


 
बुटवल उपमहानगर, प्रदेश र संघीय सरकारसँग पहिरो नियन्त्रणका लागि आवश्यक कार्य गर्न माग गरिएको विकास परिषद्का संस्थापक अध्यक्ष तथा चुरे तिनाउ विकास मञ्चका संयोजक कमल गौतमले बताए । उनका अनुसार अन्य कामलाई थन्क्याएर सरकार, राजनीतिक दल, उद्योग, वाणिज्य संघ, रूपन्देही व्यापार संघ, रूपन्देही उद्योग संघलगायत संघ–संस्थाको पहिलो एजेन्डा पहिरो नियन्त्रण हुनुपर्ने बैठकले ठहर गरेको छ ।

 

ज्योतिनगर क्षेत्रमा तत्कालै प्राविधिक खटाएर पानीको मूललाई पाइपमार्फत सुरक्षित ढंगले व्यवस्थापन गर्नुपर्ने र सरकारले तत्कालै विशेषज्ञ खटाई पहिरो नियन्त्रणका लागि गुरुयोजना निर्माण थालिहाल्न बैठकले माग गरेको छ । 

 

चुरेमा घाँस–दाउरा काट्ने, बाख्रा, गाई चराउनेमाथि कडा कारबाही गर्ने निर्णय गर्दै बैठकले डम्पिङ भएको ढुंगा लेदोलाई फाल्ने काम बुटवल उपमहानगरले गरेकामा धन्यवाद दिएको छ ।

 

उक्त कामलाई तीव्रता दिन बजेट अभाव हुन नदिन प्रदेश सरकारले अविलम्ब सहयोग गर्नुपर्नेमा जोड दिँदै बैठकले उक्त क्षेत्रमा पहिरो निम्त्याउने ठूला रुख कटान गर्न प्रदेश वन मन्त्रालयले पहल गर्नुपर्ने, विस्थापित तथा बस्न अयोग्य भएका परिवारलाई घरसहित उपयुक्त स्थानमा लालपुर्जासहित स्थानान्तण गर्नुपर्ने र निजलाई स्थानान्तरण नगर्दासम्म कोठा भाडा, आवश्यक सामग्रीका लागि आर्थिक सहयोग गर्नुपर्नेलगायत माग गरेको छ ।

 

बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीमाथि पीडितबाट भएको भौतिक आक्रमण गम्भीर रहे पनि बैठकले उक्त घटना सुनियोजित नभएको ठहर गर्दै घटनामा संलग्न गणेश पंगेनीलाई थुनामुक्त गर्न माग गरेको छ ।  भेलामा बुटवल वडा नम्बर ३ का कार्यवाहक वडाअध्यक्ष लीला श्रेष्ठले आवश्यक समन्वय र सहकार्य गर्न वडा कार्यालय तयार रहेको प्रतिबद्धता जनाए ।