close

गुणस्तर सुधार्न गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सुरु

गुणस्तर सुधार्न गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सुरु

Trulli
ADVERTISEMENT

बाग्लुङ–  बाग्लुङको बरेङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ ।
शिक्षासँग सम्बन्धित विभिन्न ६ शीर्षकमा गाउँपालिकाले चालू वर्षमा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।


यसका लागि झन्डै ३ करोड रुपैयाँ खर्चिने योजना गाउँपालिकाको छ । यो विद्यालयले ससर्त पाउने अनुदान र शिक्षक कर्मचारीको तलबबाहेकको रकम हो ।


शिक्षक, विद्यार्थी र अभिभावकसँग जोडिएका कार्यक्रम सञ्चालनदेखि पूर्वाधार निर्माणका लागि गाउँपालिकाले आफ्नै कार्यक्रम बनाएको अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् ।


‘सामुदायिक विद्यालयले पाउने ससर्त बजेटले मात्रै शैक्षिक गुणस्तर वृद्धिको आशा गर्न सकिन्न,’ शर्माले भने, ‘सिसाकलम किन्न सक्ने बजेट नहुने विद्यालयले कसरी शैक्षिक सामग्री खरिद गरेर पठनपाठन गराउन सक्छन् ? त्यसैले विद्यालयलाई सघाउन हामीले यो कार्यक्रम ल्याएका हौं ।’


विद्यालयको ५० र गाउँपालिकाको ५० प्रतिशत खर्च हुने गरी विद्यालयसँग शिक्षा शाखाले कार्यक्रम मागेको छ । शैक्षिक पूर्वाधार निर्माण, सञ्चालन, मर्मत र व्यवस्थापन तथा शैक्षिक सामग्रीको पर्याप्तताका लागि कार्यक्रम ल्याइएको शर्माले जानकारी दिए ।


गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारका लागि फरक र रचनात्मक अभ्यास गर्दै आएको छ । कोभिड–१९ का कारण प्रभावित भएका विद्यार्थीका लागि रेडियो टेलिभिजन कार्यक्रमदेखि अभिभावकलाई सक्रिय बनाउनेसम्मका कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।


‘झन्डै २ करोड रुपैयाँ पूर्वाधारमा खर्च हुन्छ । अरु रचनात्मक कार्यक्रमको लागि पर्याप्त बजेट बनाएका छौं,’ थापाले भने । विद्यालयका भवन मर्मतदेखि रङरोगन गर्ने, सौचालय मर्मत, सरसफाइलगायतका काममा गाउँपालिकाले सहयोग गर्ने भएको हो । साझेदारीले अपनत्व विकास गराउने र विद्यालयलाई कामप्रति जिम्मेवार बनाउने उनी बताउँछन् ।


गाउँपालिकाले विद्यार्थीबीच पालिकास्तरीय निबन्ध प्रतियोगिता, विद्यालयको सघन अनुगमन, बालकक्षा सुधार, बालमैत्री शिक्षालगायतका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।


विद्यालयलाई व्यावहारिक शिक्षामा जोड दिन गाउँपालिकाले बेलाबेला सुझाउने गरेको छ । बरेङमा ३५ सामुदायिक विद्यालय छन् । विद्यार्थी संख्या धेरै भएका विद्यालयमा शिक्षक दरबन्दी थप र कम भएकामा शिक्षक दरबन्दी कटौती गर्नसमेत गाउँपालिकाले अध्ययन गरिरहेको छ ।