close

झाँक्रीपानी बन्ने भयाे पर्यटन गन्तव्य, घरबास, पदमार्ग, भ्यु टावर निर्माण गरिँदै

झाँक्रीपानी बन्ने भयाे पर्यटन गन्तव्य, घरबास, पदमार्ग, भ्यु टावर निर्माण गरिँदै

Trulli
ADVERTISEMENT

म्याग्दी- सम्भावना भएर पनि ओझेल म्याग्दीको परेको झाँक्रीपानीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने मंगला गाउँपालिकाले पूर्वाधार निर्माण गरेको छ ।

 

मंगला गाउँपालिका- ३ मा पर्ने भाँक्रीपानीमा गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा पूर्वाधार तयार पारिएको हो ।
२२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास सञ्चालन भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले १०  लाख र मंगलाले १ लाख ४४ हजार रुपैयाँ सहयोग गरेका थिए ।

 

तालिम सञ्चालनका साथै बन्दोबस्तीका सामान खरिद, खानेपानी व्यवस्थापनमा सो बजेट परिचालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष कोमल थापाले बताए । सो होमस्टेमा दैनिक ४० जना बास बस्न सक्ने क्षमता छ ।

 

झाँक्रीपानीमा भ्यु टावर निर्माण भएको छ । मंगलाको २५ लाख अनुदान र सात लाख रुपैयाँ बरारबको श्रमदानमा टावर बनाइएको हो । तीन तल्ले भ्यु टावर १४ मिटर अग्लो भएको गाउँपालिकाका प्राविधिक विपीन आचार्यले बताए ।

 

भ्यु टावर परिसरमा दुईवटा प्रतीक्षालय, घेराबार र प्रवेशद्वार निर्माण भएको छ । टावरमा सुरक्षित र सहज रूपमा बसेर दृश्यावलोकन गर्न सकिनेछ । टावरको बाहिरी भागमा फलामको रेलिङ बनाइएको छ ।

 

टावर निर्माण गर्न स्थानीय दलबहादुर र नरमाया छन्त्यालले डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए । भ्यु टावर परिसरमा खानेपानी व्यवस्थापन गरिएको छ । नजिकै सभाहलसहितको सामुदायिक भवन बनेको छ ।

 

गाउँपालिकाले २८ लाख रुपैयाँ खर्च गरिसकेको सामुदायिक भवनलाई रङरोगन, फर्निचर व्यवस्थापनका लागि यस वर्ष थप तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । सो भवनमा पाहुनालाई राखेर स्वागत र स्थानीय संस्कृति देखाउन प्रयोग गरिनेछ ।  

 

भ्यु टावरदेखि ऐतिहासिक स्थल चिनाकोट दरबार जोड्ने पदमार्ग बनाइएको छ । सामुदायिक भवन र वस्तीबाट भ्यु टावरसम्म पुग्ने पदमार्गसमेत बनेको छ ।

 

गाउँपालिकाले बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने सडक स्तरोन्नति र पुलचोक-नेटा हुँदै पदमार्ग निर्माण योजनालाई निरन्तरता दिएको उपाध्यक्ष सिर्जना केसीले बताइन् ।

 

नेटासम्म निर्माण भएको पदमार्गलाई झाँक्रीपानी जोड्ने गरी क्रमागत योजना सञ्चालन भएको छ । ‘झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन पालिकाले बर्सेनि बजेट विनियोजन गरेर पूर्वाधार तयार पारेको छ,’ उनले भनिन्, ‘प्रदेश सरकार र समुदायले पनि साथ दिएका छन् ।’

 

झाँक्रीपानीमा सडक पुगिसकेको छ । सडक, पदमार्ग, भ्यु टावर, होमस्टे सुविधासँगै मंगला गाउँपालिकाको ३ र ४ वडामा पर्ने बरन्जा गाउँको शिरमा रहेको झाँक्रीपानीमा पर्यटक आकर्षित भएका छन् ।

 

केही वर्षअघिसम्म सुनसान झाँक्रीपानीमा अहिले दैनिकजसो आन्तरिक पर्यटक आउन थालेको स्थानीय सोम छन्त्याल बताउँछन् । ‘छिमेकी गाउँ, सरदमुकाम बेनीबाट युवायुवती, व्यवसायी र कर्मचारीहरू घुम्नका लागि आउन थालेका छन्,’ उनले भने, ‘केही वर्षअघिसम्म सुनसान झाँक्रीपानीमा खाने-बस्ने सुविधासहितका पूर्वाधार बनेपछि पाहुना भित्रन थालेका हुन् ।’

 

समुद्री सतहदेखि दुई हजार ५७० मिटर उचाइमा अवस्थित झाँक्रीपानीबाट धौलागिरि, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे रेन्जका १६ भन्दा बढी हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

 

सूर्याेदय, सूर्यास्त, वरपरका गुराँसको जंगल, त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी वस्ती, संस्कृति र ग्रामीण जीवनशैली यस क्षेत्रका थप आकर्षण भएको बेनीबाट झाँक्रीपानी घुम्न गएका कृष्ण जीसीले बताए ।

 

बेनी नगरपालिका राक्सेकी हीरा शर्मा झाँक्रीपानीको प्राकृतिक सौन्दर्यले मोहित बनाएको अनुभव सुनाउँछिन् ।  बेनीदेखि गाडीमा डेढ घन्टा, तातोपानी र बाबियाचौरदेखि तीन घन्टा पैदल यात्रा गरेर झाँक्रीपानी पुगिन्छ ।

 

परापूर्वकालमा झाँक्रीले तिर्खा लागेर आफूले टेकेको लट्ठी गाड्दा पानीको मूल फुटेकाले झाँक्रीपानी नाम रहन गएको स्थानीय दर्पण रोका सुनाउँछन् । झाँक्रीपानीमा २०६७ सालमा महोत्सव आयोजना गरेका बरन्जाबासीले यस क्षेत्रलाई चिनाउन म्युजिक भिडियोसमेत तयार पारेका छन् ।

 

म्याग्दी उद्योग वाणिज्य संघ, जेसिज, लायन्स क्लबलगायत संघसंस्थाले पनि झाँक्रीपानीको प्रवर्द्धनमा साथ दिएका छन् । पर्यटकीय पूर्वाधारलाई व्यवस्थित र साझेदारीलाई निरन्तरता दिए झाँक्रीपानीमा बाह्य पर्यटक आकर्षित गर्न सकिने म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए ।

 

उनका अनुसार रत्नेचौर-भकुन्डे-बेलढुंगा-गम्फाको धुरी-झाँक्रीपानी-निस्कोट वराह-दूर लेक-सोलेडाँडा-देवीस्थान हुँदै ताकमकोत जोड्ने पर्यटन पदमार्गको परिकल्पना गरिएको छ ।