close

तातोपानीका २६ सय विद्यार्थीका हातहातमा स्व–अध्ययन पुस्तिका 

तातोपानीका २६ सय विद्यार्थीका हातहातमा स्व–अध्ययन पुस्तिका 

Trulli
ADVERTISEMENT

जुम्ला– कोरोना महामारीका कारण जुम्लामा पनि विद्यालय बन्द भए । दुई शैक्षिक सत्र पठनपाठन प्रभावित भयो । कोरोना संक्रमणले विद्यालय बन्द हुदा सबैभन्दा बढी विद्यार्थीको भविष्य अन्योल भयो । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले धराशयी भएका बेला बालबालिकालाई आफैंले अध्ययन गर्न सकिने स्व–अध्ययन पुस्तिका वितरण गरिएको छ । 

 

जुम्लाको तातोपानी गाउँपालिकाभित्रका २५ वटा विद्यालयका २ हजार ६०२ जना बालबालिकालाई स्व–अध्ययन पुस्तिका वितरण गरिएको हो ।  कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकालाई स्व–अध्ययन पुस्तिका र अभिभावकलाई सन्देशमूलक सामग्री वितरण गरिएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआइसीए) का कार्यक्रम अधिकृत दीपराज रावतले बताए । 

 

उनले भने, ‘तातोपानीका बालबालिकालाई गणित विषयमा विद्यार्थीको सिकाइ क्षमतालाई सुदृढ गर्न यो कार्यक्रम लागू गरिएको हो । विद्यार्थीले विद्यालयमा मात्र नभई घरमा समेत अभिभावकको सहयोगमा पढ्न सक्नेछन् ।’ 


घरमा गणित सिकाइलाई बढावा दिने उद्देश्यले कक्षा १–३ मा अध्ययनरत विद्यार्थीलाई स्व–अध्ययन सामग्री परियोजनामार्फत वितरण गरिएको उनले बताए ।निमित्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डाँगीले स्व–अध्ययन पुस्तिकाले विद्यार्थीको पठन संस्कृतिको विकास हुने अपेक्षा गरिएको सुनाए ।
उनले भने, ‘यो पुस्तिका अभिभावक, शिक्षक र विद्यार्थीको हितमा छ ।’

 

तातोपानीका सबै सामुदायिक विद्यालयमा कक्षा १–३ सम्म अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको पालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए बताए । ‘यी सामग्रीले गणित विषयको शैक्षिक सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ न्यौपानेले भने ।

 

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मक्करबहादुर भण्डारीले बालबालिकाको विकासका लागि अभिभावकले घरमा सिकाइ सहजीकरण गरी गणित विषयको शैक्षिक उपलब्धिमूलक बनाउन आग्रह गरे ।  उनले भने, ‘शिक्षकको सहयोगका साथै बालबालिकालाई घरमै सिक्न अभिभावकले सहजीकरण गर्नुपर्छ ।’ जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले वितरण गरेको सामग्री आपतकालीन मात्रा नभएर सबै नियमित अवस्थामा समेत प्रयोग गर्न सकिनेछ । परियोजनाको उद्देश्य प्रारम्भिक कक्षा १ देखि ३ सम्मका विद्यार्थीको गणित विषयको आधारभूत दक्षतामा सुधार ल्याउनु रहेको छ ।

 

परियोजनाले गणित विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री तयारीमा पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक पेसागत विकास, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम, स्थानीय शिक्षा योजना तयारी तथा गणित शिक्षाको प्रवद्र्धनका लागि स्थानीय निकायको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक प्राविधिक सहयोग दिँदै आएको छ ।


कार्यक्रमका मुख्य लक्षित वर्ग प्रधानाध्यापक, शिक्षक र विद्यार्थी हुन् । आधारभूत तह कक्षा १–३ सम्म गणित शिक्षा सुधार गर्न परीक्षण कार्यक्रम सञ्चालन भएका स्थानीय तह महोत्तरीको पिपरा गाउँपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, तनहुँको बन्दीपुर गाउँपालिका र जुम्लाको तातोपानी गाउँपालिका हुन् ।