close

लवशेर : थाहा नगरका बेदाग नगरप्रमुख 

लवशेर : थाहा नगरका बेदाग नगरप्रमुख 

Trulli
ADVERTISEMENT

कृषि र पर्यटनमा ख्याति कमाएको मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्ट जनताका समस्या र त्यहाँ भएका कामको फेहरिस्त अनुगमन गर्न गाउँ घुम्न निस्किएका थिए । १२ नम्बर जगडाँडाका कृषकको अवस्थाबारे बुझ्नु उनको भित्री उद्देश्य थियो ।


जगडाँडाको मगरबस्तीका कृषकको घरदैलोमै पुगेपछि उनीहरूको मिहिनेतले विष्टको ध्यान खिच्यो । स्थानीयको परिश्रम र दुःख देखेर कुनै नयाँ कार्यक्रम ल्याउनुपर्छ भन्ने विष्टलाई लाग्यो । ‘जगडाँडा घुम्न जाँदा त्यहाँका कृषकहरू देखेर मलाई खुसी र एक अर्थमा दुःख पनि लाग्यो’, विष्टले भने । यसपछि विष्टले जगडाँडाका स्थानीयको सारथि बन्न एउटा योजना बुने । उक्त योजनाले अहिले थाहा नगरभरि चर्चा चुलिएको छ ।


नगरप्रमुख विष्टले आर्थिक वर्ष ०७७/७८ मा जगडाँडालाई नै भैंसी पकेट क्षेत्र घोषणा गरेर २० कृषकलाई ‘एक घर एक भैंसी’ कार्यक्रममा सरिक बनाए । उनकै पहलमा यहाँका कृषकले अहिले २५ प्रतिशत लगानी गरेर भैंसी किन्न सक्छन् । ‘कृषककै रोजाइमा खरिद गरिएको भैंसीलाई थाहा नगरले २५ प्रतिशत अनुदान दिएको छ । ५० प्रतिशत रकम कृषि विकास बैंकबाट सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था गरेका छौं’, नगरप्रमुख विष्ट भन्छन् । नगरले आव ०७७/७८ मा भैंसीपालनका निम्ति १० लाख रुपैयाँ अनुदानमा छुट्याएको थियो । 
आलु थन्क्याउन शीत भण्डार

 

‘तरकारी जोन’ थाहा नगरपालिकामा उत्पादित तरकारीको बजार बढेमाको छ । संघीय राजधानी काठमाडौंसहित हेटौंडा, बनेपा, नारायणगढलगायतका बग्रेल्ती बजारमा थाहाको तरकारी पुग्ने गरेको छ । 


थाहामा सबैभन्दा धेरै नगदेबाली आलु उत्पादन हुने गरेको छ । तर, आलु भण्डारण गरिराख्न संरचना नहुँदा  कुहिने, उचित मूल्य नपाइने र काठमाडौंमा बढी मूल्य तिरेर भण्डारण गर्नुपर्ने समस्याका कारण यहाँका कृषक विगतदेखि नै घाटा सहन बाध्य थिए । कृषकको पीडालाई विश्राम लगाउन नगरप्रमुख विष्ट अगाडि सरे । नगरपालिकाको वडा ३ घर्तीखोला कालभैरव चौरको १५ रोपनी क्षेत्रफलमा करिब १६ करोड लागत अनुमानको शीत भण्डार निर्माण हुँदै छ । थाहा नगर बन्दै गरेको शीतभण्डारमा दैलोनजिकका कैलाश, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा उत्पादित तरकारी राख्न सकिने मेयर विष्ट बताउँछन् । शीत भण्डार नहुँदा त्यस क्षेत्रका करिब ८५ प्रतिशत किसानले भोगेका समस्या अब हट्ने नगरप्रमुख विष्ट बताउँछन्  । 

 

थाहामा वार्षिक करिब साढे २२ करोड रुपैयाँभन्दा बढीको आलु, काउली, आलु, बन्दा, गाजर, मूलाजस्ता तरकारी गरी करिब ५० करोड रुपैयाँ आम्दानी हुने गरेको तथ्यांक छ ।

 

हिसाबकिताबमा सफा थाहा नगर


थाहा नगरपालिकालाई बेरुजु फस्र्योटमा देशकै सर्वोत्कृष्ट स्थानीय तह बनाउन नगरप्रमुख विष्ट सफल भएका छन् । महालेखा परीक्षकको ५७ औं प्रतिवेदनअनुसार र नेपाल सरकारको सचिवस्तरीय निर्णयबाट पनि थाहा  देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित भएको थियो । 


बेरुजु फस्र्योटमा थाहा नगर आव ०७५/७६ मा देशकै पहिलो स्थानीय तह बन्न सफल भएको थियो । आव ०७४/७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फस्र्योट गरेकामा थाहा नगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको थियो ।

 

घरदैलोमै छ्यालब्याल पानी 


०७२ को भूकम्प पानीका स्रोत सुकेर काकाकुल बनेको नगरलाई ३ वर्षमै नगरप्रमुख विष्टले कायापलट गरिदिएका छन् । ‘भूकम्पपछि नगरमा रहेका पानीका स्रोत सबै सुकेका थिए । अहिले नगरभर पानी पुर्‍याएको छु ।  नगरका ९० प्रतिशतभन्दा बढी क्षेत्रमा खानेपानीको सहज पहुँच पुगिसकेको छ’, विष्ट सन्तुष्टि बाँड्छन्  ।

 

कोरोना नियन्त्रणमा अब्बल


कोरोना महामारी नियन्त्रण र रोकथाममा नगरप्रमुख विष्टले खेलेको भूमिकाले मकवानपुरमा मात्र नभई नेपालभर प्रशंसा पाएको छ । थाहाका १२ वटै वडामा क्वारेन्टाइन निर्माण गरिए । बाहिरबाट आएकालाई नगर प्रवेशमा कडाइ गर्नुका साथै वैदेशिक रोजगारी र भारतबाट स्वदेश फर्किएका नगरबासीको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएपछि विष्ट चर्चामा आए । कोरोना संक्रमित भेटिने थाहा जिल्लाकै पहिलो स्थानीय तह हो । 


नगरपालिकाले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि खर्चिएको हिसाबकिताब र कोषमा सञ्चित रकमको दैनिक विवरण केन्द्र, प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, स्वास्थ्य विभाग, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई समेत दैनिक पठाउँदै आएको छ ।

 

नगरबासीलाई कोसेली घर


थाहा नगरले ४ नम्बर वडाको नयाँगाउँमा स्थानीय स्तरमा उत्पादिन सामग्री बिक्री गर्न कोसेली घर निर्माण गरेको छ । नगरपालिकाले कोसेली घरमा राखिने उत्पादित सामग्रीको मूल्य किसानलाई पहिल्यै दिइने नगरप्रमुख विष्ट बताउँछन् । ‘स्थानीयले कोसेली घर पुर्‍याउने सुकुल, गुन्द्री, माटा अनि काठका भाँडा, खाद्यान्नलगायत सामग्रीको आधा रकम तत्काल दिन्छौं । बाँकी रकम बिक्री सकिएपछि दिने योजना बुनिएको छ,’ विष्टले भने । 

 

पर्यटन उँचो बनाउन ‘ड्रिम प्रोजेक्ट’


बाग्मती प्रदेशकै प्रमुख पर्यकटीय गन्तव्य कहलिँदै गएको थाहा नगरले पर्यटन क्षेत्रको विकासमा महत्वाकांक्षी योजना अघि बढाएको छ । थाहा पार्क (स्मारक) सहित साइकल र फुट ट्रेललगायतका योजना नगरपालिकाको पहिलो प्राथमिकतामा परेको नगरप्रमुख विष्ट बताउँछन् । नगरपालिकाको वडा–४ नयाँगाउँमा निर्माणाधीन थाहा पार्कमा पिकनिक स्पट र नगरको सबै क्षेत्र दृश्यावलोकन गर्न सक्ने गरी भ्युटावरको संरचना निर्माण गरिएको विष्ट बताउँछन् ।